
धनगढी, कैलाली । स्थानीय स्तर बाटै फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य सहित धनगढी उपमहानगरपालिकाले नगरका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।

सामुदायिक विद्यालय र सार्वजनिक खेल मैदानलाई केन्द्रित गरी सञ्चालन गर्न लागिएको कार्यक्रमको शनिबार धनगढी रंगशालामा औपचारिक सुरुवात गरिएको हो।कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गरेका हुन्।

उनले प्रशिक्षक तथा खेलाडीलाई फुटबल हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए। उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, उपप्रमुख, जनप्रतिनिधि तथा खेलकुद क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा सहभागी खेलाडीहरूले उद्घाटन लाई खेल उत्सवका रूपमा मनाएका थिए।धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघबीच भएको सहकार्य तथा सम्झौताअनुसार नगरका विभिन्न वडामा रहेका सामुदायिक विद्यालय र सार्वजनिक खेल मैदानमा नियमित फुटबल प्रशिक्षण सञ्चालन गरिनेछ। यसका लागि नगरप्रमुख गोपाल हमाल र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रमअन्तर्गत वडा नम्बर १ को कभर्डहल खेल मैदान, वडा नम्बर २ को सूक्ष्म वर्गीकरण नजिकको मैदान, वडा नम्बर ३ को प्रस्तावित नयाँ बसपार्क खेल मैदान, वडा नम्बर ५ को यातायात नजिक रहेको श्रीकृष्ण खेल मैदान र वडा नम्बर ६ को धनगढी पोलिटेक्निक खेल मैदानमा प्रशिक्षण सञ्चालन हुनेछ।

त्यसैगरी वडा नम्बर ७ को पटेला खेल मैदान, वडा नम्बर ८ को धनगढी नमुना माध्यमिक विद्यालय, वडा नम्बर ११ को दक्षिणकाली आधारभूत विद्यालय, वडा नम्बर १२ को मनकामना युवा क्लब, वडा नम्बर १३ को जनता राष्ट्रिय माध्यमिक विद्यालय तथा नवज्योति आधारभूत विद्यालय नजिकका खेल मैदानलाई पनि प्रशिक्षण केन्द्रका रूपमा समेटिएको छ।यस्तै वडा नम्बर १४ को टाउन प्लानिङ खेल मैदान, वडा नम्बर १७ को पथरी पुल नजिकको मैदान र डुमौलिया खेल मैदान, वडा नम्बर १८ को प्रस्तावित स्टेडियम तथा वडा नम्बर १९ को आइ गाउँस्थित खेल मैदानमा समेत फुटबल प्रशिक्षण सञ्चालन गरिनेछ।

धनगढी उपमहानगरपालिकाले पछिल्ला वर्षहरूमा ग्रासरुट खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आएको छ। आर्थिक वर्ष २०७९/८० मा ग्रासरुट क्रिकेट कार्यक्रम सञ्चालन गरेको उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा चार स्थानबाट फुटबल कार्यक्रम सुरु गरेको थियो। त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा पनि चार स्थानमा कार्यक्रमलाई निरन्तरता दिइएको थियो भने आर्थिक वर्ष २०८२/८३ मा प्रशिक्षण केन्द्रको संख्या बढाएर १२ पुर्याइएको थियो।

यसैगरी, सार्वजनिक जग्गाको सदुपयोग गर्दै उपमहानगरपालिकाले हालसम्म नगरका विभिन्न स्थानमा २१ वटा खेल मैदान निर्माण गरेको जनाएको छ।ग्रासरुट फुटबल कार्यक्रमले बालबालिका तथा युवालाई सानै उमेरदेखि फुटबल प्रशिक्षणको अवसर उपलब्ध गराउने, स्थानीय प्रतिभाको पहिचान गर्ने र भविष्यका लागि दक्ष खेलाडी उत्पादन गर्ने अपेक्षा गरिएको छ।

विद्यालय र सार्वजनिक खेल मैदानलाई खेलकुद गतिविधिको केन्द्र बनाउँदै नगरभित्र फुटबलको आधार विस्तार गर्ने कार्यक्रमको लक्ष्य रहेको छ।स्थानीय तहबाटै फुटबलको जग बलियो बनाउने यो पहलले धनगढीमा नयाँ खेल प्रतिभा पहिचान तथा उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।#Khabardhara #NewsUpdate #Football #Dhangadhi #GrassrootsFootball #KailaliFootball



