कांग्रेस केन्द्रीय सदस्यमा गोरखबहादुर बिष्ट ‘आनन्द’को उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता गोरखबहादुर बिष्ट ‘आनन्द’ले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

बिष्टले आइतबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसलाई गुट–उपगुटभन्दा माथि उठाएर एकताबद्ध, अनुशासित, प्रविधिमैत्री र आधुनिक पार्टीका रूपमा रूपान्तरण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। कांग्रेसलाई केवल निर्वाचन जित्ने माध्यम नभई मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणको प्रमुख संवाहक बनाउने उनको दाबी छ।
तीन दशकभन्दा लामो लोकतान्त्रिक तथा सामाजिक सेवाको यात्रालाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गर्दै बिष्टले विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएको उल्लेख गरेका छन्। २०४६ सालको जनआन्दोलनका क्रममा देहरादुन र दिल्लीमा आयोजित लोकतान्त्रिक आन्दोलनदेखि अमेरिकामा रहँदा नेपाली लोकतान्त्रिक आन्दोलनका पक्षमा सक्रिय भूमिका निर्वाह गरेको उनले बताएका छन्।

सन् १९९९ मा न्युयोर्कमा ‘नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल’ स्थापना, सन् २००२ मा संयुक्त राष्ट्रसंघको भवनअगाडि निरंकुश राजतन्त्रविरुद्ध आयोजित र्यालीको नेतृत्व तथा २०६२/६३ को जनआन्दोलनका क्रममा अमेरिकाका विभिन्न सहरमा प्रदर्शन आयोजना गरी अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउन भूमिका खेलेको बिष्टले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्।
सन् २००५ मा नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक संयोजक बनेका बिष्टले २००८ र २०१४ मा दुई कार्यकाल सभापतिको जिम्मेवारी सम्हालेको तथा अमेरिकाका विभिन्न राज्यमा २६ वटा च्याप्टर विस्तार गर्न भूमिका खेलेको बताएका छन्। ११औँदेखि १४औँ महाधिवेशनसम्म लगातार महासमिति सदस्य रहेका उनी १३औँ महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवाद्वारा आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका थिए।
बिष्टले प्रवासमा रहेका नेपालीका लागि रोजगारी तथा बसोबासको व्यवस्थापन, बिरामीको उपचार, निधन भएका नेपालीको शव नेपाल पठाउने तथा अन्त्येष्टिमा सहयोगलगायतका सामाजिक कार्यमा निरन्तर सक्रिय रहेको बताएका छन्।

कोभिड–१९ महामारीका क्रममा अमेरिकाबाट राहत संकलनदेखि नेपालमा भएका प्राकृतिक विपद्का समयमा सहयोग पुर्याएको उल्लेख गर्दै उनले कोरोना महामारीका बेला अमेरिकाबाट १ करोड ३५ लाख रुपैयाँ संकलन गरी कांग्रेसको राहत कोषमा जम्मा गराएको बताएका छन्। त्यस्तै २०७२ सालको भूकम्पपछि गागलफेदीमा विद्यालय भवन पुनर्निर्माण, दार्चुलाका बाढीपीडित तथा तराईका हुरीबतास र शीतलहर प्रभावितलाई सहयोग, विभिन्न जिल्लाका जीर्ण विद्यालय भवन पुनर्निर्माण तथा डोटीमा दुईवटा एम्बुलेन्स उपलब्ध गराउने कार्यमा पनि आफू संलग्न रहेको उनको भनाइ छ।
केन्द्रीय सदस्यमा निर्वाचित भए सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी, उद्यमशीलता, आर्थिक रूपान्तरण र प्रविधिमैत्री पार्टी निर्माणलाई प्राथमिकता दिने बिष्टले बताएका छन्।
उनले विदेशमा रहेका लाखौँ नेपालीले आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई राष्ट्र निर्माणमा जोड्ने तथा विश्वभर रहेका नेपाली जनसम्पर्क समितिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने नीति अघि सार्ने बताएका छन्।

त्यस्तै बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादलाई २१औँ शताब्दीको सामाजिक–आर्थिक परिवेश र प्रविधिसँग जोड्दै कांग्रेसको वैचारिक धरातललाई थप बलियो बनाउने उनको प्रतिबद्धता छ।
बिष्टले पार्टीभित्र अवसरको न्यायोचित र पारदर्शी वितरण, निष्ठावान् तथा क्रियाशील कार्यकर्ताको उचित मूल्याङ्कन, आन्तरिक लोकतन्त्रको सुदृढीकरण र निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्ने बताएका छन्।
महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम तथा पछाडि पारिएका क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व र सशक्तीकरणलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्। जलवायु परिवर्तन, दिगो विकास र जैविक विविधता संरक्षणका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहल गर्ने उनको प्रतिबद्धता छ।
“कुनै व्यक्तिगत पद, प्रतिष्ठा वा महत्त्वाकाङ्क्षाका लागि नभई जनता र निष्ठावान् कार्यकर्ताको सच्चा सेवक बनेर नीति निर्माण तहमा योगदान दिने उद्देश्यले उम्मेदवारी दिएको हुँ,” बिष्टले भनेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा आफूलाई केन्द्रीय सदस्यका रूपमा विजयी गराउन उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिसँग मत, सल्लाह र आशीर्वादका लागि अपिल गरेका छन्।
यसअघि बिष्ट कैलाली क्षेत्र नम्बर ४ बाट १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा ६९० मतमध्ये ५६० मत प्राप्त गरी निर्वाचित भएका थिए।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज 18 देखि 22 गतेसम्म काठमाडौंमा हुने कार्यतालिका रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो