सहमतिको प्रयासपछि नगर सभापतिको दाबेदारी छाड्दै हेमन्त ‘बाजे’ प्रदेश सभापतिको मैदानमा

कैलाली । नेपाली कांग्रेस गौरीगंगा नगर सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेका युवा नेता हेमन्त राज जोशी ‘बाजे’ले आफ्नो दाबेदारी फिर्ता लिँदै अब कैलाली क्षेत्र नं. ४ (क) को प्रदेश सभा क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने भएका छन्।
नगर नेतृत्वका लागि पार्टीभित्र सहमति र सहकार्यको वातावरण बनाउन प्रयास गरेका जोशीले सहमतिलाई प्राथमिकता दिँदै नगर सभापतिको दौडबाट पछि हट्ने निर्णय गरेको बताइएको छ। उनले अब आफ्नो राजनीतिक सक्रियता प्रदेश सभा क्षेत्रीय नेतृत्वतर्फ केन्द्रित गर्ने भएका छन्।

पार्टी संगठनमा सक्रिय रहँदै आएका जोशी पछिल्लो समय सामाजिक गतिविधिमा समेत निरन्तर संलग्न छन्। पार्टीका विभिन्न कार्यक्रम, कार्यकर्ता भेटघाट, संगठन विस्तार तथा स्थानीय सामाजिक गतिविधिमा उनको सहभागिता रहँदै आएको छ।
गौरीगंगा क्षेत्रमा युवाहरूसँग नियमित सम्पर्क र समन्वयमा रहने जोशीले संगठनभित्रको जिम्मेवारीलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको उनका निकटस्थहरूको भनाइ छ। सामाजिक क्षेत्रमा देखिएको सक्रियता र पार्टी संगठनसँगको निरन्तर आबद्धताका कारण उनी स्थानीय युवापंक्तिमा परिचित रहेको बताइन्छ।
नगर सभापति पदको दाबेदारी छाडेपछि जोशीले क्षेत्र नं. ४ (क) को प्रदेश सभा क्षेत्रीय सभापति पदलाई आफ्नो आगामी राजनीतिक लक्ष्य बनाएका छन्। संगठनलाई थप व्यवस्थित बनाउने, युवाको सहभागिता बढाउने र कार्यकर्ताबीच समन्वय सुदृढ गर्ने विषयलाई उनले प्राथमिकतामा राखेको बताइएको छ।

जोशीको उम्मेदवारीसँगै कैलाली क्षेत्र नं. ४ (क) मा प्रदेश सभा क्षेत्रीय नेतृत्व चयनलाई लिएर राजनीतिक गतिविधि थप बढेको छ। आगामी अधिवेशनबाट प्रदेश क्षेत्रीय नेतृत्व चयन हुने भएकाले विभिन्न आकांक्षीहरूबीच सहमति र प्रतिस्पर्धाको प्रक्रिया अघि बढिरहेको छ।
नेपाली कांग्रेसको क्षेत्रीय तथा प्रदेश अधिवेशन भोलि अत्तरियामा हुने कार्यक्रम रहेको छ। उक्त अधिवेशनबाट क्षेत्र नं. ४ (क) को नयाँ नेतृत्व चयन हुनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो