धनगढीमा । कैलालीको धनगढीमा पहिलो पटक ‘मायामेट्रो हस्पिटल सुदूरपश्चिम महिला गोल्डकप–२०८३’ आयोजना हुने भएको छ। सुर्मादेवी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता धनगढी उपमहानगरपालिका–१९, आई गाउँस्थित क्लबको खेलमैदानमा कात्तिक १८ गते देखि २२ गते सम्म सञ्चालन हुनेछ।प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

नकआउट प्रणालीमा खेलाइने प्रतियोगिताको विजेता टोलीले ९९ हजार ९९९ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

महिला फुटबलको विकास, स्थानीय तथा प्रतिभावान् खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र राष्ट्रियस्तरका खेलाडी उत्पादनमा योगदान पुर्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष राजेन्द्र स्नेहीले जानकारी दिएका छन्।

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा मायामेट्रो हस्पिटल रहेको छ भने अखिल नेपाल फुटबल संघ (एन्फा) र कैलाली जिल्ला फुटबल संघको सहयोग रहने आयोजकले जनाएको छ।महिला फुटबलको प्रवर्द्धनसँगै सुदूरपश्चिममा खेलकुद गतिविधि विस्तार गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

#Khabardhara #NewsUpdate #WomensFootball #Sudurpashchim