
कैलाली, कात्तिक २ । कैलालीको गौरीगंगा नगरपालिका–१, चनौरामा आयोजित दशैँ विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘हाम्रो कला, हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल नारासहित थारू सांस्कृतिक एबल समूहले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्काउने विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए। कलाकारहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्यले कार्यक्रमलाई आकर्षक बनाउनुका साथै दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रममा समाजका बुद्धिजीवी, समाजसेवी, स्थानीय अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। दर्शकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमको रौनक थप बढाएको थियो।

दशैँको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमकी संयोजक अनिता चौधरीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार, दर्शक, बुद्धिजीवी, समाजसेवी, सहयोगी संस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छन्।

कार्यक्रममा रोयल कृषि फार्म, कैलाली जिल्ला फुटबल संघका सदस्य तथा चाँदनी मिडिया एण्ड मार्केटिङ इभेन्ट प्रा.लि.का प्रबन्ध निर्देशक चन्द्र बम, जिमी गुड्स एन्ड सप्लायर्स, शैलेश्वरी राइस एन्ड फ्लोर मिल, चौमाला खानेपानीलगायत विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोग रहेको थियो। कार्यक्रमको मिडिया पार्टनर खबरधारा डटकम रहेको थियो।

स्थानीयस्तरमा आयोजना हुने यस्ता सांस्कृतिक कार्यक्रमले सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई बलियो बनाउनुका साथै मौलिक कला तथा संस्कृतिको संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएककाे छ।

