गौरीगंगामा ५ करोडको विद्यालय भवन निर्माण सम्झौता सम्पन्न
गौरिगंगा,कैलाली — भारतीय राजदूतावास को ९० प्रतिशत र गौरीगंगा नगरपालिका को १० प्रतिशत लागत साझेदारीमा गौरीगंगा नगरपालिका वडा नं ११ स्थित कालिका आधारभूत विद्यालयमा नयाँ विद्यालय भवन निर्माण गर्ने सम्झौता सम्पन्न भएको छ।

करिब रु ५ करोड लागतमा निर्माण हुन लागेको उक्त भवनका लागि आयोजित कार्यक्रममा भारतीय राजदूतावासका प्रतिनिधि तथा नगर प्रमुख देवी दत्त कडेल बीच औपचारिक सम्झौतामा हस्ताक्षर गरिएको हो।

नयाँ भवन निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधारमा सुधार आउने, विद्यार्थीलाई सहज र सुरक्षित अध्ययन वातावरण उपलब्ध हुने विश्वास लिइएको छ। स्थानीय तह र अन्तर्राष्ट्रिय साझेदारीमार्फत शिक्षामा लगानी बढ्दै जानु सकारात्मक संकेत भएको सरोकारवालाहरूले बताएका छन्।

नगर प्रमुख देवी दत्त कडेलले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै यस्ता सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, राजदूतावासका प्रतिनिधिले नेपालको शिक्षा क्षेत्र सुधारमा निरन्तर सहयोग गर्ने बताएका छन्।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो