रसुवा बाढीपीडितका लागि कैलाली क्षेत्र नं ५ “ख” तरुण दलकाे ५२ हजारभन्दा बढी सहयोग

धनगढी । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर ५ ‘ख’ क्षेत्रीय कार्यसमितिले आर्थिक सहयोग गरेको छ।
कार्यसमितिले स्थानीय स्तरमा संकलन गरेको रु. ५२ हजार ९०९ राहत रकम नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिको राहत कोषमा पठाएको हो।

नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर ५ ‘ख’ का सभापति तेजु रोकाया र तरुण दलका पूर्व केन्द्रीय सदस्य दीपेन्द्रबहादुर बमको सक्रिय पहलमा उक्त रकम संकलन गरिएको जनाइएको छ।
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले तरुण दलका सदस्य तथा स्थानीयस्तरबाट रकम जुटाइएको सभापति रोकायाले बताए। उनका अनुसार विपद्को समयमा पीडित परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको हो।

संकलित रकम आज नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय कैलालीमा आयोजित कार्यक्रममा जिल्ला पार्टी कार्यालयका सचिवद्वय केशव मिश्र र निर्पबहादुर सुनारमार्फत तरुण दलको केन्द्रीय राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको जनाइएको छ।
राहत रकम हस्तान्तरणका क्रममा सहभागी नेताहरूले प्राकृतिक विपत्तिमा परेका नागरिकको सहयोगलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो