गौरिगंगा , कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–९, मसुरिया शंकरपुरस्थित मसुरिया फुटबल एकेडेमीका चार खेलाडी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि सुदूरपश्चिम प्रदेशको फुटबल टोलीमा छनोट हुन सफल भएका छन्।

कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष तर्फ सुभित सार्की र वीरेन्द्र सुनार तथा महिला तर्फ पूर्णिमा ताडी र निर्मला आचार्य प्रदेश टोलीमा स्थान बनाउन सफल भएका हुन्।

महिलातर्फ छनोट भएका पूर्णिमा ताडी र निर्मला आचार्य यसअघि पनि नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगितामा सहभागिता जनाइसकेका अनुभवी खेलाडी हुन्। उनीहरूले यसअघि नै आफ्नो खेल कौशल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिसकेका छन्।

सहिद स्मारक सी डिभिजन क्वालिफायर–२०२५ मा समेत सहभागिता जनाएको मसुरिया फुटबल एकेडेमीले आफ्ना चार खेलाडी प्रदेश टोलीमा छनोट भएपछि खुसी व्यक्त गर्दै सबै खेलाडीलाई हार्दिक बधाई तथा प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएको छ।एकेडेमीले निरन्तर प्रशिक्षण, मेहनत र लगनशीलतामार्फत खेलाडीहरूको क्षमता विकास गर्दै राष्ट्रियस्तरको प्रतियोगितासम्म पुर्याउन सफल भएको जनाएको छ।

स्थानीय स्तरबाटै प्रतिभावान् खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित अघि बढिरहेको एकेडेमीका लागि चार खेलाडीको प्रदेश टोलीमा छनोट हुनु गौरवको विषय बनेको छ।

यस उपलब्धिले मसुरिया क्षेत्रको फुटबल विकासमा थप उत्साह थप्नुका साथै नयाँ पुस्ताका खेलाडीलाई समेत फुटबलप्रति आकर्षित गर्दै अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।


