You are currently viewing संकटमा अग्रमोर्चा, सेवामा निरन्तरता : आनन्द बिष्टको तीन दशकको समर्पण

संकटमा अग्रमोर्चा, सेवामा निरन्तरता : आनन्द बिष्टको तीन दशकको समर्पण

सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी

कैलाली। गोरखबहादुर बिष्ट ‘आनन्द’का लागि राजनीति पद र प्रतिष्ठाको यात्रा होइन, जनताको सेवा गर्ने पवित्र अभियान हो। तीन दशकदेखि लोकतन्त्र, सुशासन, समृद्धि र दिगो विकासका एजेण्डामा निरन्तर सक्रिय बिष्ट यतिबेला प्रतिनिधिसभा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारका रूपमा जनताको घरदैलोमा पुगिरहेका छन्।

अभावबाट उठेको संकल्प

२०२९ जेठ १३ गते डोटीको गड्सेरामा मध्यमवर्गीय परिवारमा जन्मिएका बिष्टले अभाव र संघर्षबीच बाल्यकाल बिताए। पहाडी जीवनको कठिन दैनिकी, शिक्षा–स्वास्थ्य र पूर्वाधारको कमीले उनलाई सानैदेखि परिवर्तनको सोचतर्फ प्रेरित गर्‍यो।

डोटीस्थित महेन्द्र प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएपछि परिवार धनगढी सरेको थियो। उनले पञ्चोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। उच्च शिक्षाका लागि भारतको देहरादुन, काठमाडौं हुँदै अमेरिका पुगे। विदेशमा रहे पनि मातृभूमिप्रतिको माया र गाउँ–समाजप्रतिको उत्तरदायित्व उनको मनबाट कहिल्यै टाढा भएन।

विद्यार्थी आन्दोलनदेखि अन्तर्राष्ट्रिय अभियानसम्म

विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय बिष्ट २०४६ सालको जनआन्दोलनका क्रममा भारतमै रहेर प्रदर्शनमा सहभागी भए। पछि अमेरिका पुगेपछि पनि नेपालको लोकतन्त्र सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउने अभियानमा जुटे।

सन् १९९९ मा ‘नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल’ स्थापना गरी उनले न्यूयोर्कमा लोकतन्त्र पक्षधर युवाहरूलाई संगठित गरे। सन् २००२ मा संयुक्त राष्ट्रसंघको भवनअगाडि लोकतन्त्र पक्षमा आयोजित र्‍यालीको नेतृत्व गरे।

२०६२/६३ को जनआन्दोलनका क्रममा न्यूयोर्क र वासिङ्टन डिसीमा आयोजित प्रदर्शनले उनको राजनीतिक जीवनमा महत्वपूर्ण मोड ल्यायो। उक्त अभियानपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला ले फोनमार्फत बधाई दिएका थिए।

सन् २००५ मा उनले नेपाली जनसम्पर्क समिति अमेरिका स्थापना गरी संस्थापक संयोजकको भूमिका निर्वाह गरे। २००८ र २०१४ मा सभापतिमा निर्वाचित हुँदै संगठन विस्तारमा योगदान पुर्‍याए। ११औं देखि १४औं महाधिवेशनसम्म महासमिति सदस्य रहेका बिष्टलाई १३औं महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउबा ले आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। भूगोल बाहिरबाट उक्त जिम्मेवारी पाउने उनी पहिलो व्यक्ति मानिन्छन्।

संकटमा सधैं अग्रपंक्ति

बिष्टको परिचय राजनीतिमा मात्र सीमित छैन, समाजसेवामा पनि उत्तिकै सक्रिय छन्।

कोरोना महामारीका बेला न्यूयोर्क सिटी उच्च जोखिममा हुँदा उनले स्वयंसेवक परिचालन गरी औषधि, मास्क, सेनिटाइजर, ग्लोब्स र खाद्य सामग्री घर–घर पुर्‍याए। दैनिक ४०–५० जना स्वयंसेवक खटाएर बिरामी र अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गरे। हजारौं विद्यार्थी होस्टेल बाहिरिएपछि खानपान र उपचारको व्यवस्था मिलाए।

उनको सक्रियताबाट प्रभावित भई न्यूयोर्कका तत्कालीन मेयरले निवासमै पुगेर सम्मान व्यक्त गरेका थिए भने अमेरिकाका तत्कालीन राष्ट्रपति Joe Biden बाट ‘उत्कृष्ट सामाजिक सेवा’ सम्मान प्राप्त गरे।

नेपालमा पनि निरन्तर सहयोग

२०७२ सालको विनाशकारी भूकम्पपछि राहत सामग्रीसहित नेपाल आएर त्रिपाल वितरण, अस्थायी आवास निर्माण, विद्यालय पुनर्निर्माण र छात्रवृत्ति व्यवस्थापनमा सक्रिय भए। काठमाडौंको गागलफेदीमा विद्यालय पुनर्निर्माण तथा भूकम्पपीडित विद्यार्थीलाई छात्रवृत्ति व्यवस्था गरे।

दार्चुलाको बाढीपहिरो, तराईका हुरीबतास, शीतलहर प्रभावित क्षेत्र र गोरखाको लाप्राक शिविरमा उनले आर्थिक तथा सामग्री सहयोग पुर्‍याएका छन्। देशका विभिन्न अनाथालय, वृद्धाश्रम र उपचार अभावमा रहेका बिरामीहरूलाई सहयोग गर्दै आएका छन्।

उनकै पहलमा डोटीमा दुई वटा एम्बुलेन्स सञ्चालनमा छन्। दर्जनौं जिर्ण विद्यालय भवन निर्माण तथा सयौं विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

जनताको आवाज सुन्ने नेता

पार्टीले खटाएको जिम्मेवारी हुम्ला, खोटाङ, बझाङजस्ता दुर्गम जिल्लामा समेत कुसलतापूर्वक निर्वाह गरेका बिष्टको विश्वास छ—नेता भाषणले होइन, कर्मले चिनिन्छ।

उनले भन्छन्,

“परिवर्तन आफ्ना कुरा सुनाएर होइन, जनताका पीडा सुनेर र त्यसअनुसार काम गरेर सम्भव हुन्छ।”

तीन दशकदेखि व्यक्तिगत जीवनभन्दा माथि उठेर समाजसेवामा समर्पित बिष्ट अहिले कैलाली–४ का मतदातासँग विश्वासको मत मागिरहेका छन्। सेवा, समर्पण र संघर्षको इतिहास बोकेका आनन्द बिष्टलाई समर्थकहरूले संकटका सहारा र समाज परिवर्तनका सारथीका रूपमा चित्रण गर्दै आएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner