कठरिया समुदायबाट पहिलो सांसद बनिन् करिश्मा कठरिया, शिक्षणदेखि संसदसम्मको प्रेरणादायी यात्रा
कैलाली — कैलालीको गौरीगंगा नगरपालिका–१० की करिश्मा कठरिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य चयन भएसँगै संघीय संसदमा पुग्ने कठरिया समुदायकी पहिलो सांसद बनेकी छन्।
२०५३ सालमा मध्यमवर्गीय परिवारमा जन्मिएकी करिश्माको बाल्यकाल ग्रामीण परिवेशमै बित्यो। मसुरियास्थित क्षितिज इङ्लिस बोर्डिङ स्कुलबाट विद्यालय तह पूरा गरेकी उनले माध्यमिक शिक्षा जनप्रिय माध्यमिक विद्यालयबाट हासिल गरिन् भने टीकापुर बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गरेकी छन्।

राजनीतिमा आउनुअघि करिश्माले करिब ६ वर्ष शिक्षण पेशामा बिताइन्। २३ वर्षकै उमेरमा विद्यालयको प्रधानाध्यापक बन्ने अवसर पाएकी उनले टीकापुरस्थित ज्योति आधारभूत विद्यालयमा ४ वर्ष नेतृत्व सम्हाल्दै शिक्षा क्षेत्रको गहिरो अनुभव संगालिन्। शिक्षणकै क्रममा उनले समाजका धेरै समस्याको जरो नीतिगत तहसँग जोडिएको महसुस गरिन्, जसले उनलाई राजनीतिमा प्रवेश गर्न प्रेरित गर्यो।

शिक्षणसँगै उनी सामाजिक सेवामा पनि सक्रिय रहिन्। जेसिसमार्फत नेतृत्व विकासमा संलग्न रहँदै २६ वर्षको उमेरमा किस्मिनिया महिला कृषि सहकारी संस्थाको अध्यक्ष बनेर ग्रामीण महिलाको आर्थिक सशक्तिकरणमा योगदान दिइन्।
उनको राजनीतिक यात्रा २०७९ को आमनिर्वाचनबाट सुरु भएको हो। प्रारम्भमा नागरिक उन्मुक्ति पार्टीसँग आबद्ध भई समानुपातिक उम्मेदवार बनेकी उनी पछि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै रास्वपामा प्रवेश गरिन्। सुशासन, पारदर्शिता र नयाँ पुस्ताको नेतृत्वप्रतिको विश्वासले उनलाई रास्वपातर्फ आकर्षित गरेको हो।

थारु समुदायभित्र पनि पछाडि परेको मानिने कठरिया समुदायबाट संसदमा प्रतिनिधित्व हुनु ऐतिहासिक उपलब्धि मानिएको छ। करिश्माले आफ्नो संसद यात्रालाई केवल उपस्थितिमा सीमित नराखी परिणाममुखी बनाउने अठोट व्यक्त गरेकी छन्। उनले थारु समुदायका अधिकार, शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणका मुद्दालाई प्राथमिकतामा राख्ने बताएकी छन्।
उनको यो उपलब्धिले पछाडि परेको समुदायमा नयाँ आशा जगाएको छ भने समावेशी प्रतिनिधित्वतर्फ महत्वपूर्ण सन्देश दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो