धनगढी उपमहानगरपालिका–१३ मा रहेको विद्याभूषण स्कुलले माघ ९ र १० गते दुई दिनसम्म शैक्षिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । को विद्यार्थीहरूको सर्वाङ्गीण विकास, अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यका साथ आयोजना गरिएका यी कार्यक्रमहरूले विद्यालयको शैक्षिक र सह–पाठ्यक्रम गतिविधिप्रतिको प्रतिबद्धता झल्काएको छ।

माघ ९ गते सरस्वती पूजाको पावन अवसरमा विद्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्या र बुद्धिकी देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरिनुका साथै विद्यालयद्वारा सञ्चालन गरिएको खेल सप्ताहमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। उक्त अवसरमा विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी तथा विभिन्न पुरस्कार प्रदान गर्दै उनीहरूको उत्साह र मनोबल अभिवृद्धि गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका–५ का नि।वर्तमान वडा अध्यक्ष कर्ण सिंह बोहराले शिक्षा नै समाज विकासको मेरुदण्ड भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरणा दिनुभयो। उहाँले विद्यालयले शैक्षिकसँगै खेलकुद र संस्कृतिलाई पनि समान महत्व दिइरहेकोमा प्रशंसा व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी, माघ १० गते पनि स्कुलले विद्यालय परिसरमै भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नृत्य, गायन, नाटक, कविता वाचन लगायत विविध सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू प्रस्तुत गरिएका थिए। विद्यार्थीहरूले प्रस्तुत गरेका कार्यक्रमहरूले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा जम्मा २७ वटा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो भने १७ वटा विविध विधाका गीतहरू गाइएका थिए। नेपाली मौलिक संस्कृति, लोकनृत्य, आधुनिक नृत्य तथा राष्ट्रिय भावनाले ओतप्रोत गीतहरूले कार्यक्रममा विशेष आकर्षण थपेका थिए।
त्यसैगरी, कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका विज्ञान प्रदर्शनी पनि अवलोकनका लागि राखिएको थियो। विज्ञान प्रदर्शनीमार्फत विद्यार्थीहरूले आफ्नो सिर्जनशील सोच, प्रयोगात्मक ज्ञान तथा वैज्ञानिक अवधारणालाई व्यवहारमा उतारेका थिए। प्रदर्शनीमा प्रस्तुत सामग्रीले अभिभावक, शिक्षक तथा अतिथिहरूको ध्यान आकर्षित गरेको थियो।

कार्यक्रमको अर्को मुख्य आकर्षणका रूपमा विद्यार्थीहरूले प्रस्तुत गरेको नाटक रहेको थियो। नाटकमार्फत सामाजिक सन्देश, नैतिक शिक्षा तथा समसामयिक विषयवस्तु प्रस्तुत गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएका यी कार्यक्रमहरूले विद्या भूषण स्कुललाई शैक्षिक उत्कृष्टतासँगै सांस्कृतिक र नैतिक मूल्यको संवाहक शैक्षिक संस्थाको रूपमा स्थापित गर्न थप टेवा पुगेको विद्यालयले जनाएको छ।
थप केहि तस्वीरहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो