You are currently viewing रवीन्द्र ढाँटले रचे इतिहास, ‘रोड टु युएफसी’को फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, ‘रोड टु युएफसी’को फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, ‘रोड टु युएफसी’को फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय एरिनामा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

चीनको साङ्घाईमा भइरहेको रोड टु युएफसी सिजन–५ अन्तर्गत सेमिफाइनल भिडन्तमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै रवीन्द्र फाइनलमा प्रवेश गरेका हुन्। योसँगै उनी रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली एमएमए फाइटर बनेका छन्।

अब रवीन्द्रसामु उपाधि जितेर विश्वकै प्रतिष्ठित एमएमए संस्था युएफसी (UFC) सँग व्यावसायिक सम्झौताको अवसर हासिल गर्ने सम्भावना छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्न सके उनको करिअरले नयाँ उचाइ लिन सक्छ।

११ मध्ये १० खेलमा जित

‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले बान्टमवेट विधामा अहिलेसम्म ११ वटा व्यावसायिक खेल खेलेका छन्। तीमध्ये उनले १० खेलमा जित निकाल्दा एक खेलमा मात्रै पराजय व्यहोरेका छन्।

सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि रवीन्द्रले लगातार प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। पछिल्ला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनको प्रदर्शनले नेपाली एमएमएलाई समेत अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

भारतमा पनि बनाएका थिए इतिहास

रवीन्द्रले गत वर्ष भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट–१७ मा उत्कृष्ट प्रदर्शन गर्दै बान्टमवेट उपाधि जितेका थिए।

उपाधि भिडन्तमा उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै जित हात पारे। उक्त सफलतासँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी बनेका थिए।

क्वाटरफाइनलमा फिलिपिन्सका फाइटरलाई हराएका थिए

रोड टु युएफसी सिजन–५ मा पनि रवीन्द्रको यात्रा प्रभावशाली रहँदै आएको छ। गत मे महिनामा मकाउमा भएको क्वाटरफाइनलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए।

त्यसपछि साङ्घाईमा भएको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डकलाई हराउँदै उनले नेपाली एमएमए इतिहासमै नयाँ अध्याय थपेका छन्।

अब नेपाली खेलप्रेमीको नजर रवीन्द्रको फाइनल भिडन्तमा हुनेछ। फाइनलमा उपाधि जित्न सके उनी युएफसीमा प्रवेशको ढोका खोल्ने पहिलो नेपाली फाइटर बन्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner