सुदूरपश्चिम प्रदेश फुटबल संघमा राजीनामाको झट्का, एकै दिन तीन सदस्यले छाडे पद

धनगढी । सुदूरपश्चिम प्रदेश फुटबल संघका सदस्यद्वय दिनेश कलेल र नृप बुढाले पदबाट राजीनामा दिएका छन्। संघको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनीहरूले राजीनामा दिएका हुन्।

कलेलले शुक्रबार संघका अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै तत्काल लागू हुने गरी सदस्य पदबाट राजीनामा दिएको जनाएका छन्। राजीनामा पत्रमा उनले संघको नेतृत्वले आवश्यक सल्लाह, छलफल तथा समन्वय नगरी मनोमानी ढंगले काम गर्न खोजेको भन्दै नेतृत्वको कार्यशैली प्रति आफू सन्तुष्ट हुन नसकेको उल्लेख गरेका छन्।
कलेलले आफूले विगत केही वर्षदेखि संघको सदस्यका रूपमा रहेर काम गर्ने अवसर पाएको स्मरण गर्दै सुदूरपश्चिम प्रदेश फुटबल संघ परिवार, कैलाली जिल्ला फुटबल संघ, कञ्चनपुर फुटबल संघ र सम्पूर्ण फुटबल परिवार तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन्।

उनले राजीनामा दिए पनि आगामी दिनमा फुटबल क्षेत्रको विकास र प्रवर्द्धनका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने बताएका छन्। साथै, उनले सुदूरपश्चिम प्रदेश फुटबल संघको उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
यसैबीच, संघका अर्का सदस्य धनश्याम डाँगीले पनि पदबाट राजीनामा दिएका छन्। तीन सदस्यले एकैपटक पद त्याग गरेपछि सुदूरपश्चिम प्रदेश फुटबल संघ भित्रको पछिल्लो गतिविधि र नेतृत्वको कार्यशैली लाई लिएर चर्चा चुलिएको छ।
सदस्यहरूको राजीनामाले संघ भित्र देखिएको असन्तुष्टि र आन्तरिक समन्वयको विषयलाई सतहमा ल्याएको छ। यद्यपि, राजीनामाबारे संघको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो