बाजुरामा लागू औषध विरुद्ध प्रदेश स्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन
बाजुरा (मार्तडी) । “लागूऔषध मुक्त प्रदेश : हाम्रो अभियान, हाम्रो पहिचान” भन्ने नारासहित लागू औषध विरुद्धको प्रदेश स्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम बाजुराको बडीमालिका नगरपालिका–८, मार्तडीस्थित श्री मालिका माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भइरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको समन्वय तथा प्रदेश युवा परिषद्, धनगढी कैलालीको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा श्री मालिका माध्यमिक विद्यालयको सहकार्य रहेको छ।
कार्यक्रम मिति २०८२ माघ २२ गते, बिहान १०:३० बजेदेखि सुरु भएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि, युवा समूह, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको छ।
अभिमुखीकरण कार्यक्रममा लागू औषधको कुलतले व्यक्ति, परिवार र समाजमा पार्ने गम्भीर असर, यसको रोकथामका उपाय, कानुनी व्यवस्था तथा युवाहरूको भूमिका विषयमा जानकारी गराइएको छ। वक्ताहरूले विशेषगरी किशोर–किशोरी र युवालाई लागू औषधबाट टाढा रहन आग्रह गर्दै, सचेत र जिम्मेवार नागरिक बनेर लागू औषध मुक्त समाज निर्माणमा हातेमालो गर्न आह्वान गरेका छन्।
विद्यालयस्तरबाटै सचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै सहभागीहरूले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। कार्यक्रमले स्थानीय तहमा लागू औषध विरुद्ध साझा प्रतिबद्धता र जनचेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो