‘थाकेको हो, हारेको छैन’ — कप्तान सावित्रा भण्डारी ‘साम्बा’को भावुक अपिल, ८० हजार डलर सहयोग आवश्यक
काठमाडौं — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गम्भीर घुँडा चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको बताउँदै आम समर्थकसमक्ष आर्थिक सहयोगको अपिल गरेकी छन्। पछिल्लो ७ हप्तादेखि मैदानबाहिर रहेकी उनले उपचार प्रक्रिया अपेक्षाअनुसार अघि नबढ्दा शल्यक्रियामा ढिलाइ भएको जनाएकी छन्।
भण्डारीका अनुसार यसअघि एसीएलमा गरिएको शल्यक्रियाबाट राखिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ। चिकित्सकले पुनः जटिल शल्यक्रिया र त्यसपछि ७–८ महिनाको रिह्याब आवश्यक पर्ने बताएका छन्। प्रारम्भिक अनुमानअनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च हुने देखिएको छ।
यसअघि उनको उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको पहलमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो, जसले उनलाई समयमै पुनरागमन गर्न मद्दत पुगेको थियो। तर यसपटक भने एन्फाबाट प्रशासनिक सहयोग सम्भव नरहेको जानकारी आएको र नगद ५ लाख रुपैयाँसम्म सहयोग गर्ने प्रस्ताव राखिएको उनले उल्लेख गरेकी छन्। “एकतर्फ अघिल्लो प्रक्रिया रोकियो, अर्कोतर्फ शल्यक्रिया मितिका लागि पुनः प्रयास गर्नुपर्ने भयो,” उनले भनिन्।
हाल उनी क्लबको जिम्मेवारीमा न्युजिल्यान्डमा छिन्। क्लबले स्थानीय अस्पतालमै उपचार गराउन तयार रहेको जनाए पनि उनले विगतमा उच्चस्तरीय उपचार गरिएको कतारको Aspetar अस्पतालमै शल्यक्रिया गराउने इच्छा व्यक्त गरेकी छन्। क्लबबाट विमा रकम निकासा हुने भए पनि त्यो रकम शल्यक्रिया र लामो रिह्याबका लागि अपुग हुने भएकाले सहयोगको याचना गर्नुपरेको उनको भनाइ छ।
भण्डारीले आफ्नो करियरभर कठिनाइसँग जुध्दै अघि बढेको स्मरण गराउँदै यसपटकको अवस्था “सबैभन्दा कठिन लडाइँ” भएको बताएकी छन्। “देशका लागि सधैं शत प्रतिशत दिएको छु। इजरायल, फ्रान्स वा न्युजिल्यान्ड–अष्ट्रेलियामा खेल्दा पनि मैले राष्ट्रकै पहिचान बोकेको महसुस गरेको छु,” उनले भनिन्।
उनले नेपालभित्र सहयोग गर्न चाहनेहरूलाई उपलब्ध गराइएको QR वा बैंकमार्फत सहयोग गर्न र विदेशमा रहेका समर्थकहरूलाई अनलाइन लिंकमार्फत योगदान दिन आग्रह गरेकी छन्। “यो चोटले शारीरिक र मानसिक रूपमा थकाएको छ, तर म हारेको छैन। पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु,” भन्दै उनले अपिल टुंग्याएकी छन्।
नेपाली फुटबल समुदायले कप्तान साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग अभियानमा साथ दिनुपर्ने आवाज उठ्न थालेको छ। “जय नेपाल” भन्दै उनले समर्थकहरूप्रति विश्वास व्यक्त गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो