भोटेकोशी बाढीपहिरो पीडितका लागि सि.पि. अस्पताल परिवारको ३ लाख ३५ हजार ३३५ रुपैयाँ सहयोग

धनगढी । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सि.पि. अस्पताल परिवारले ३ लाख ३५ हजार ३३५ रुपैयाँ सहयोग गरेको छ।

विपद्को पीडामा रहेका नागरिकलाई साथ दिने तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले अस्पतालका कर्मचारी तथा अस्पताल प्रशासनले स्वेच्छिक रूपमा रकम संकलन गरी राहत कोषमा योगदान गरेको अस्पतालले जनाएको छ।
बाढीपहिरोका कारण धेरै परिवारले आफन्त गुमाउनुका साथै घर, व्यवसाय तथा सम्पत्तिमा ठूलो क्षति व्यहोर्नुपरेको अवस्थामा पीडितको दुःखमा साथ दिन अस्पताल परिवारले सहयोग गरेको हो।

सि.पि. अस्पताल परिवारले विपद्को कठिन समयमा ‘सेवा नै मानवताको सबैभन्दा ठूलो धर्म हो’ भन्ने भावनासहित सामाजिक सेवामा हातेमालो गर्दै पीडित नागरिकलाई राहत पुर्याउने अभियानमा आफ्नो तर्फबाट योगदान गरेको जनाएको छ।
अस्पतालको यो मानवीय तथा सामाजिक उत्तरदायित्वपूर्ण पहलले विपद्मा परेका नागरिकलाई केही राहत पुग्नुका साथै अन्य व्यक्ति, संस्था तथा व्यवसायिक प्रतिष्ठानलाई समेत पीडितको सहयोगमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

विपद्को समयमा पीडितको साथमा उभिनु केवल आर्थिक सहयोग मात्र नभई मानवता, सामाजिक एकता र जिम्मेवारीको भावना अभिव्यक्त गर्ने महत्वपूर्ण कदम भएको अस्पताल परिवारले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो