मस्टाधाम र हाटखोली फोहोरमुक्त बनाउँदै सैपाल युवा क्लबको उदाहरणीय पहल
गोदावरी ८ स्याउले, वैशाख १६
गोदावरी नगरपालिका–८ मा अवस्थित सैपाल युवा क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

क्लबद्वारा गोदावरी नगरपालिका–४ बन्दगढा स्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको मस्टाधाम मन्दिर परिसर तथा हाटखोली क्षेत्रमा रहेको पिकनिक स्थल र नुहाउने स्थानमा जथाभावी फालिएका फोहरहरू व्यवस्थापन गर्दै सरसफाइ गरिएको हो।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष रमेश बोगटीको नेतृत्वमा कार्यसमिति सदस्यहरू, खेलाडीहरू , प्रशिक्षक तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर वरपरको क्षेत्र, पिकनिक स्पट तथा जलाशय नजिकका स्थानहरूबाट प्लास्टिक, बियरका बोतल,कागज लगायतका फोहर संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरेका थिए।
सरसफाइ कार्यक्रमले धार्मिक स्थलको पवित्रता कायम गर्नुका साथै पर्यटकीय स्थलको आकर्षण बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ। स्थानीयवासीहरूले पनि क्लबको यस पहलको प्रशंसा गर्दै यस्ता गतिविधिहरूले समुदायमा सकारात्मक सन्देश दिने बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष रमेश बोगटीले सैपाल युवा क्लब खेलकुदमा मात्र सीमित नभई सामाजिक कार्यमा पनि निरन्तर सक्रिय रहेको बताए। “हामीले राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेका छौं, तर समाजप्रति हाम्रो दायित्वलाई पनि उत्तिकै प्राथमिकता दिएका छौं,” उनले भने। उनले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सैपाल युवा क्लबले विगतदेखि नै खेलकुद विकाससँगै समाज सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। युवाहरूलाई कुलतबाट टाढा राख्दै सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यका साथ क्लबले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
यस प्रकारका सरसफाइ अभियानहरूले वातावरण संरक्षण, सार्वजनिक स्थलको स्वच्छता र समुदायमा सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो