गौरिगंगा नगरपालिकाको सूचना कागजमै सीमित ? ७ दिन बित्दा पनि चौमाला बजार क्षेत्रमा काम सुरु भएन !
गौरीगंगा – कैलालीको गौरिगंगा नगरपालिका ले चौमाला बजार क्षेत्रका अवैध संरचना तथा अवरोध हटाउन भन्दै जारी गरेको सूचना कार्यान्वयनमा भने ढिलाइ भएको देखिएको छ ।
नगरपालिकाले २०८३ वैशाख १५ गते सार्वजनिक गरेको सूचनामा चौमाला बजार चोकदेखि पुरानो बजार हुँदै वडा नम्बर २ जोड्ने सडक स्तरोन्नति तथा नाली निर्माण योजनाका लागि सडक क्षेत्रमा रहेका भौतिक संरचना, गिटी, बालुवा, ढुंगा लगायतका अवरोध ७ दिनभित्र हटाउन आग्रह गरेको थियो ।

तर सूचना जारी भएको समय बितिसक्दा समेत सम्बन्धित क्षेत्रमा निर्माण कार्य सुरु नभएको स्थानीयले बताएका छन् । बजार क्षेत्रमा अझै पनि अवरोध यथावत देखिएको भन्दै स्थानीय व्यवसायी तथा सर्वसाधारणले नगरपालिकाको कार्यशैलीप्रति प्रश्न उठाउन थालेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४५(३) अनुसार सूचना जारी गरिएको उल्लेख भए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको स्थानीयको भनाइ छ । समयमै काम सुरु नहुँदा सडक विस्तार तथा नाली निर्माण योजना फेरि अलपत्र पर्ने हो कि भन्ने चिन्ता समेत बढेको छ ।
अब नगरपालिकाले सूचना कार्यान्वयनलाई प्रभावकारी बनाउँदै वास्तविक रूपमा काम अगाडि बढाउने कि फेरि कागजी प्रक्रियामै सीमित रहने भन्ने चासो बढेको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो