You are currently viewing कांग्रेस कैलाली क्षेत्र नं. ४ (क) को नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी, पदस्थापना तथा शपथ ग्रहण सम्पन्न

कांग्रेस कैलाली क्षेत्र नं. ४ (क) को नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी, पदस्थापना तथा शपथ ग्रहण सम्पन्न

कैलाली। नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ (क) को नवनिर्वाचित प्रदेश क्षेत्रीय कार्यसमितिको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिका–चौमालामा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापन गरिनुका साथै प्रदेश महाधिवेशन प्रतिनिधिहरूलाई शपथ गराइएको हो।

क्षेत्रीय प्रदेश सभापति हेमन्तराज जोशी (बाजे) को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति भीम बडुवाल प्रमुख अतिथि तथा क्षेत्रीय सभापति सुरत कार्की विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा पूर्व जिल्ला सचिव एवं महाधिवेशन प्रतिनिधि पूर्ण कुँवर, वसन्त रोकाया (ललित), लोकराज पाण्डे (आगो), विष्णुप्रसाद भाट, पुष्पराज जोशी, दिनेश कलेल, सीपी सापकोटा, गौरीगंगा नगर सभापति हृदय थापा र गोदावरी नगर सभापति रविन्द्र शाही (गुड्डु) लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले पार्टीको ऐतिहासिक विरासत, लोकतान्त्रिक मान्यता र संगठनात्मक एकतालाई कायम राख्दै संगठन विस्तारमा जुट्नुपर्ने धारणा राखेका थिए। उनीहरूले आपसी सहकार्य, समन्वय र एकतामार्फत पार्टी संगठनलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए।

त्यस्तै, नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यहरूको सक्रियता बढाउने, संगठनलाई विस्तार गर्ने र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि वक्ताहरूले जोड दिएका थिए।

कार्यक्रममा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो। समापन मन्तव्य राख्दै सभापति जोशीले नयाँ जिम्मेवारीलाई इमानदारी, निष्ठा र प्रतिबद्धताका साथ निर्वाह गर्ने तथा सबैलाई समेटेर संगठनलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन सचिव शंकर सिंह ऐरीले गरेका थिए भने सहसचिव लाल पनाडीले स्वागत मन्तव्य राखेका थिए।