भोटेकोशी बाढीपीडितलाई निसर्ग हस्पिटलको ११ लाख ११ हजार १११ सहयोग, यस वर्ष तीज कार्यक्रम नगर्ने
धनगढी । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि धनगढी स्थित निसर्ग हस्पिटलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

विपत्तिको कठिन घडीमा प्रभावित नागरिक लाई साथ दिने उद्देश्यले हस्पिटलले यस वर्ष तीज कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम राहतका लागि समर्पण गरेको हो। साथै कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूले कम्तीमा एक दिन बराबरको तलब तथा सुविधाबाट योगदान गरी संकलन भएको रकम समेत राहतका लागि प्रदान गरिएको हस्पिटलले जनाएको छ।
उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत ग्लोबल आइएमई बैंकको आधिकारिक खातामा जम्मा गरिएको छ।

निसर्ग हस्पिटलले स्थापना कालदेखि नै दुःख, आपत्–विपद् र सामाजिक कठिनाइका समयमा मानवीय सेवामा सक्रिय हुँदै आएको जनाएको छ। गरिब, विपन्न तथा दुःखमा परेका नागरिकको उपचार तथा सेवामा समेत हस्पिटलले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले बताउनु भयो।
अध्यक्ष पन्तले विपत्तिको समयमा स्वार्थभन्दा माथि उठेर मानवता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो। “चाडपर्वको खुसीभन्दा अहिले विपत्तिमा परेका परिवारको साथ महत्वपूर्ण छ,” उहाँको भनाइ छ।

निसर्ग हस्पिटलको यो सहयोगले विपत्तिमा परेका परिवार लाई राहत तथा पुनर्स्थापनाका लागि केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, संकटको समयमा निजी क्षेत्र तथा सामाजिक संस्थाहरूले समेत मानवीय सेवामा हातेमालो गर्नुपर्ने सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो