बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा हिमपातपछि सम्पर्कविहीन भएका एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी निवासी २० वर्षीय मनिष बोहरा रहेका छन्। उनी गत शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार आइतबार बिहान बेपत्ता युवकको खोजीका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। खोजीका क्रममा बोहरा बडीमालिकास्थित त्रिवेणी पाटन नजिक मृत अवस्थामा फेला परेका हुन्।

मृतकको शव तथा खोजी र उद्धार कार्यमा खटिएको सुरक्षाकर्मीको टोलीलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याउने पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन्।
यसअघि हिमपातका कारण त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ निवासी २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा अचानक हिमपात भएपछि कार्की गत शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बस्न बाध्य भएका थिए। करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा भारी हिमपात भएपछि उनीहरू समस्यामा परेका थिए।
