पिपल चौतारा बजार व्यवस्थापन समितिद्वारा रक्तदान कार्यक्रम, १२ पिन्ट रगत संकलन
धनगढी, १६ साउन। पिपल चौतारा बजार व्यवस्थापन समितिले आफ्नो १४औँ स्थापना दिवसको अवसरमा धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा स्वेच्छिक रक्तदान कार्यक्रम आयोजना गरेको छ।

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा सम्पन्न कार्यक्रममा स्वेच्छिक रक्तदाताबाट १२ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।
समितिका अध्यक्ष दिनेश बिष्टले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मानव जीवन बचाउन सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि समाजहितका यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष गजेन्द्र शाही, समितिका पदाधिकारी तथा सदस्य, स्थानीय बासिन्दा, समाजसेवी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रक्तदान गर्ने सबै स्वेच्छिक रक्तदातालाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमाणपत्र वितरण गर्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थराज पन्तले सामाजिक सेवामूलक अभियानमा सहभागी हुने अवसर दिएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता मानवीय कार्यमा अस्पतालको सहयोग निरन्तर रहने बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गजेन्द्र शाहीले बजार व्यवस्थापनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने समितिको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता अभियानले समुदायमा सहयोग, सेवाभाव र सामाजिक एकता बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

सामुदायिक प्रहरी सेवा केन्द्रको सभाहलमा सम्पन्न कार्यक्रमबाट संकलित रगत आवश्यकताअनुसार विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको सेवामा प्रयोग गरिने जनाइएको छ। साथै, स्वेच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो