नेपाली महिला फुटबल संकटमा: गोलरक्षक अन्जिला थुम्बापो सुब्बाको भावुक अपिल
काठमाडौं — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जिला थुम्बबो सुब्बा ले देशको फुटबल अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायहरूलाई तत्काल समाधान खोज्न आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले नेपाली फुटबल अहिले संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै खेलभन्दा बढी राजनीति र प्रशासनिक विवाद हाबी भएकोप्रति दुख व्यक्त गरेकी छन्। उनले यस्तो अवस्थाले खेलाडीहरूको मनोबल कमजोर बनाउने र समग्र खेलकुद क्षेत्रमै नकारात्मक असर पर्ने बताएकी छन्।
उनका अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको विवादले आगामी SAFF Women’s Championship 2026 मा नेपालको सहभागिता नै अनिश्चित बन्ने खतरा देखिएको छ। उनले प्रशासनिक प्रक्रिया र समयसीमा उल्लङ्घन जस्ता विषयहरू केवल कागजी कुरा नभई खेलाडीहरूको वर्षौंको मेहनत र सपना जोडिएको विषय भएको उल्लेख गरेकी छन्।
सुब्बाले प्रशिक्षण, तयारी र स्पष्ट योजनाविनाको अवस्थाले खेलाडीहरूलाई प्रत्यक्ष असर पार्ने भन्दै चिन्ता व्यक्त गरिन्। “देशका लागि खेल्ने अवसर पाउनुपर्ने खेलाडीहरू प्रशासनिक समस्याका कारण पछि पर्नु दुःखद हो,” उनले भनिन्।
उनले नेपाल सरकार र एन्फालाई तुरुन्त संवादमार्फत सहमति खोज्न आग्रह गर्दै खेलकुदलाई राजनीतिक विवादको केन्द्र नबनाउन अपिल गरेकी छन्। साथै, खेलाडीहरूलाई उचित वातावरण उपलब्ध गराएर उनीहरूको मेहनत मैदानमा देखिने सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन्।
अन्त्यमा उनले खेलाडीहरूको भविष्यलाई जोखिममा नराखी प्राथमिकतामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरेकी छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो