धनगढीमा ग्रासरुट फुटबल अभियान सुरु, नगरप्रमुख हमालद्वारा भव्य उद्घाटन

धनगढी: कैलालीको धनगढीमा ग्रासरुट फुटबल विकास कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ। शनिबार धनगढी उपमहानगरपालिका वडा नं. १४ स्थित रंगशालामा आयोजित एक भव्य समारोहका बीच नगरप्रमुख गोपाल हमालले कार्यक्रम उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख हमालले खेलकुद क्षेत्र धनगढी उपमहानगरपालिकाको प्राथमिकतामा पर्ने उल्लेख गर्दै युवालाई सकारात्मक दिशातर्फ लैजान खेलकुदको महत्वपूर्ण भूमिका रहने बताए। उनले स्थानीय तहबाट खेलकुद पूर्वाधार र प्रतिभा विकासमा निरन्तर लगानी गरिने प्रतिबद्धता समेत जनाए।
धनगढी उपमहानगरपालिकाको विशेष पहल तथा कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत नगरका विभिन्न वडामा ग्रासरुट स्तरबाटै फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको छ। कार्यक्रमको औपचारिक सुरुवातसँगै फुटबलप्रेमी दर्शक तथा बाल खेलाडीहरूमा उत्साह थपिएको देखिएको छ।
कैलाली जिल्ला फुटबल संघमा अनिल मल्लको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएपछि जिल्लामा फुटबल गतिविधि थप सक्रिय बन्दै गएको छ। पछिल्ला वर्षहरूमा प्रतियोगिता, तालिम तथा विकास कार्यक्रमहरू बढ्दै जाँदा स्थानीय स्तरमा खेलप्रति आकर्षण समेत वृद्धि भएको छ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य अनिल मल्ल, जिल्ला फुटबल संघका पदाधिकारीहरू, प्रशिक्षकहरू तथा सयौंको संख्यामा बालबालिका र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो