दशौं राष्ट्रिय खेलकुदका लागि कैलालीबाट १८६ फुटबल खेलाडीको फाराम पेस
धनगढी । आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कैलाली जिल्लाबाट जिल्ला छनोट प्रतियोगितामा सहभागी हुने १८६ जना फुटबल खेलाडीको फाराम पेस को छ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आगामी २०८३ मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलाली जिल्ला फुटबल संघले खेलाडीहरूको फाराम कैलाली जिल्ला खेलकुद विकास समितिमा पेस गरेको हो।

संघले जिल्ला छनोट प्रतियोगितामा सहभागी हुन पुरुषतर्फ ९४ जना र महिलातर्फ ९२ जना गरी कुल १८६ जना फुटबल खेलाडीको फाराम कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख आश्रम केसी समक्ष पेस गरेको जनाएको छ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता लाई मध्यनजर गर्दै खेलाडी छनोट प्रक्रियालाई अगाडि बढाइएको हो। जिल्ला छनोट प्रतियोगिता मार्फत उत्कृष्ट खेलाडी छनोट गरी राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम टोली निर्माण गर्ने अपेक्षा गरिएको छ।

पुरुष र महिला दुवै तर्फका खेलाडीको उल्लेख्य सहभागिताले कैलालीमा फुटबल प्रतिको आकर्षण र खेलकुद विकासको सम्भावनालाई थप उजागर गरेको छ। राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कैलाली जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादनमा छनोट प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो