धनगढी । सुदूरपश्चिमको मौलिक पर्व ओल्केको अवसर पारेर संस्कृति, सम्पदा, पर्यटन र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘ओल्के हेरिटेज राइड २०८३’ प्रदेशका विभिन्न आठ स्थानमा सम्पन्न भएको छ।

फारवेष्ट राइडर्सको आयोजनामा कैलालीको धनगढी, अत्तरिया र बौनिया, कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगर, डडेल्धुराको अमरगढी तथा डोटीको बुडरमा एकैदिन साइकल यात्रा गरिएको हो।

कार्यक्रममा विभिन्न स्थानका साइकलप्रेमी, महिला तथा बालबालिकासहित स्थानीयको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। धनगढीमा आयोजित कार्यक्रमको मुख्य प्रायोजन निसर्ग अस्पतालले गरेको थियो।

फारवेष्ट राइडर्सका संस्थापक अध्यक्ष भरत विक्रम शाहका अनुसार साइकल यात्रालाई सुदूरपश्चिमको संस्कृति, ऐतिहासिक सम्पदा र पर्यटकीय स्थलसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनका अनुसार साइकल संस्कृतिको विकाससँगै युवापुस्तालाई स्वस्थ र सक्रिय जीवनशैलीतर्फ आकर्षित गर्नु पनि राइडको महत्वपूर्ण उद्देश्य हो।

नियमित साइकल चलाउँदा शारीरिक सक्रियता बढ्नुका साथै व्यायाम गर्ने बानी र तौल व्यवस्थापनमा सहयोग पुग्ने भएकाले साइकल प्रयोगलाई दैनिक जीवनसँग जोड्नुपर्नेमा आयोजकले जोड दिएका छन्। महिला तथा बालबालिकाको सहभागिताले साइकल यात्रा समुदाय र परिवारसँग पनि जोडिँदै गएको सन्देश दिएको आयोजकको भनाइ छ।

कार्यक्रमले वातावरण संरक्षणको विषयलाई समेत प्राथमिकतामा राखेको थियो। छोटो दूरीमा साइकलको प्रयोग बढाउन सके इन्धनको खपत तथा सवारीसाधनबाट हुने प्रदूषण कम गर्न सकिने भएकाले सहरमा सुरक्षित साइकल लेन र साइकलमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता राइडले औँल्याएको छ।

साइकल यात्रामार्फत सुदूरपश्चिमका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने आयोजकको विश्वास छ। व्यवस्थित साइकल रुट, पार्किङ, विश्रामस्थल र सुरक्षित सडक पूर्वाधार विकास गर्न सके सुदूरपश्चिमलाई साइकल पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने सम्भावना रहेको उनीहरूले बताएका छन्।

आठ स्थानमा एकैसाथ सम्पन्न ‘ओल्के हेरिटेज राइड २०८३’ ले साइकललाई केवल आवतजावतको साधनका रूपमा नभई स्वस्थ जीवनशैली, वातावरण संरक्षण, संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास गर्न सकिने सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो