बाजुराको त्रिवेणीमा पहिरोले दुई घरमा पूर्ण क्षति, एक बेपत्ता
बाजुरा — बाजुराको त्रिवेणी नगरपालिका–९, ताम्सुमा गएराति आएको अविरल वर्षा संगै पहिरोले दुई वटा घरमा पूर्ण क्षति पुर्याएको छ। पहिरोमा परी दुई जना घाइते भएका छन् भने एक जना महिला अझै बेपत्ता रहेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार २०८२ साल साउन २८ गते राति करिब ११ बजे बुदे थापा र धर्म थापाको घरमा पहिरो खसेको हो। पहिरोले दुवै घरमा पूर्ण क्षति पुर्याएको बताइएको छ।

पहिरोमा परी प्रमिला थापा बेपत्ता भएकी छन्। उनको खोजी कार्यका लागि स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा, प्रहरी तथा उद्धारमा खटिएको टोलीले निरन्तर खोजी गरिरहेको छ। पहिरोमा घाइते भएका दुई जनाको समेत उद्धार गरी उपचारका लागि आवश्यक पहल भइरहेको छ।
उद्धार तथा खोजी कार्यमा स्थानीय युवासहितको टोली सक्रिय रूपमा खटिएको छ। उद्धारमा संलग्न स्थानीय युवा बल थापाले खबरधारा डटकमलाई दिएको जानकारीअनुसार पहिरोमा पुरिएकी प्रमिला थापाको खोजी कार्य जारी रहेको छ।

घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। पहिरो प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक राहत र थप उद्धारका लागि सम्बन्धित निकायले आवश्यक तयारी गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो