You are currently viewing पाँचौ गौरीगंगा मेयर कप २०८३ : वडा नं. २ र वडा नं. ७ च्याम्पियन

पाँचौ गौरीगंगा मेयर कप २०८३ : वडा नं. २ र वडा नं. ७ च्याम्पियन

गौरीगंगा मेयर कप २०८३ : वडा नं. २ र वडा नं. ७ च्याम्पियन

गौरीगंगा, कैलाली, जेठ २३ । गौरीगंगा नगरपालिकाको आयोजनामा सम्पन्न पाँचौं गौरीगंगा मेयर कप–२०८३ अन्तर्गत महिला तथा पुरुष फुटबल प्रतियोगिताको उपाधि क्रमशः वडा नं. २ र वडा नं. ७ ले जितेका छन्।

महिलातर्फ वडा नं. ९ र वडा नं. २ बीच भएको फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. २ ले उपाधि आफ्नो नाममा पार्न सफल भयो।

फाइनल खेलमा वडा नं. २ की जर्सी नम्बर १२ की धना बोहरा प्लेयर अफ द म्याच घोषित भइन्। उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भइन्। उत्कृष्ट गोलरक्षकको पुरस्कार वडा नं. २ की जेनिसा सिङ्गाल ले प्राप्त गरिन् भने वडा नं. ९ की कुञ्जन वली उदयीमान खेलाडी घोषित भइन्। सर्वाधिक गोलकर्ताको उपाधि वडा नं. ९ की जानकी भण्डारी ले हात पारिन्।

त्यसैगरी पुरुषतर्फ वडा नं. ५ र वडा नं. ७ बीच भएको अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेल निर्धारित समयमा गोल रहित बराबरीमा टुंगिएपछि उपाधिको छिनो फानो पेनाल्टी सुटआउट मार्फत गरिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. ७ ले उपाधि जित्न सफल भयो।


पुरुष फाइनलमा वडा नं. ७ का गोलरक्षक विष्णु बिक म्यान अफ द म्याच घोषित भए। उनले पेनाल्टी सुटआउटमा महत्वपूर्ण बचाउ गर्दै टोलीलाई उपाधि दिलाउन निर्णायक भूमिका खेलेका थिए। उनी प्रतियोगिताकै उत्कृष्ट गोलरक्षकसमेत घोषित भए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार विक्रम जोशी ले प्राप्त गरे भने उदयीमान खेलाडी वडा नं ५ का विप्लप मगर घोषीत भए। सर्वाधिक गोलकर्तातर्फ वडा नं. ७ का वीरेन्द्र सुनार र वडा नं. १ का उमेश साउद ले समान ४–४ गोल गरेपछि उक्त पुरस्कार संयुक्त रूपमा प्रदान गरिएको थियो।

प्रतियोगिताको समापन समारोह प्रतियोगिता संयोजक तथा नगर उपप्रमुख भोजबहादुर बम को सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाश बम प्रमुख अतिथि रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा गौरीगंगा नगरप्रमुख देवीदत्त कडेल, प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउद, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सुदूरपश्चिम प्रदेश फुटबल संघका सदस्य तथा गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेल, काली रक्षा गणका प्रमुख सेनानी सञ्जीव खनाल, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रकाश बमले आफू पनि पूर्व खेलाडी रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रप्रति सधैं सकारात्मक रहेको बताए। उनले खेल मैदानको स्तरोन्नतिका लागि प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै विजेता, उपविजेता तथा सहभागी सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिए।

समापन समारोहमा सभाध्यक्ष भोजबहादुर बमले खेलकुदको विकास र स्तरोन्नतिका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको बताए। उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने गौरीगंगा नगरकार्यपालिका, कैलाली जिल्ला फुटवल संघ ,प्रतियोगिता समिति, गौरीगंगा–११ स्पोर्ट्स क्लब, खेलप्रेमी, दर्शक, विभिन्न क्लब तथा संघसंस्था प्रति आभार व्यक्त गर्दै आगामी वर्ष मेयर कपलाई अझ भव्य, व्यवस्थित र स्तरीय रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए।

गौरीगंगा नगरपालिकाको आयोजनामा सञ्चालित मेयर कप प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान, खेलकुद संस्कृतिको विकास तथा युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner