आजदेखि देशभर एसईई परीक्षा सुरू, ५ लाख बढी विद्यार्थी सहभागी
कैलाली, चैत १९ – आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) औपचारिक रूपमा सुरू भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हरेक वर्षझैँ यस वर्ष पनि देशभर एकैपटक परीक्षा सञ्चालन गरेको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार आज बिहान ८ बजेदेखि देशभरका तोकिएका परीक्षा केन्द्रहरूबाट एकै समयमा परीक्षा सुरू भएको हो। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।
यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जना रहेका छन्। सहभागीमध्ये छात्राको संख्या बढी रहेको छ। परीक्षामा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र अन्य ७ जना सहभागी छन्।

यस पटक जापानस्थित एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्। देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ भने ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका छन्।
परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरीसहित आवश्यक जनशक्ति परिचालन गरिएको छ। साथै, उत्तरपुस्तिका व्यवस्थापन र परीक्षणलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका लागू गरिएको छ।
सामूहिक अनुगमनमा रोक
यस वर्षदेखि परीक्षा केन्द्रमा गरिने सामूहिक अनुगमनमा रोक लगाइएको छ। विभिन्न संघसंस्थाका प्रतिनिधि हलमा प्रवेश गर्दा विद्यार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। अब प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।
तीन दिनभित्रै उत्तरपुस्तिका परीक्षण
नयाँ व्यवस्थाअनुसार परीक्षा सम्पन्न भएको अधिकतम तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्ने योजना बनाइएको छ। उत्तरपुस्तिका परीक्षण केन्द्रमै बसेर गर्नुपर्नेछ र त्यसका लागि सिसिटिभी जडित सुरक्षित कक्षको व्यवस्था गरिएको छ।

परीक्षणका क्रममा मोबाइललगायत विद्युतीय उपकरण प्रयोग गर्न निषेध गरिएको छ भने अनियमितता भेटिएमा कडा कारबाही गरिने जनाइएको छ।
परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षकलाई बुझाइने र परीक्षणमा लापरवाही भएमा पुनः परीक्षण गराउनेदेखि पारिश्रमिक कटौती तथा सूचीबाट हटाउनेसम्मका कारबाहीको व्यवस्था गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो