पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण प्रस्ताव अघि बढ्दै, महावीर पुनको टिप्पणी
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन ले पुराना गाडीहरूलाई विद्युतीय (इलेक्ट्रिक) सवारीमा रूपान्तरण गर्ने प्रस्तावलाई सरकारले ढिलाइ नगरी अघि बढाउनुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफू मन्त्री हुनु अघि र मन्त्रीहरूसँग भेटघाट हुँदा पनि उक्त विषयमा पहल गरेको उल्लेख गरेका छन्। तर, सम्बन्धित निकाय र व्यक्तिहरूको असहयोगका कारण योजना प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनको गुनासो छ।
पुनले अब पुराना सवारी साधनलाई विद्युतीयमा परिवर्तन गर्ने अभियानलाई कुनै पनि हालतमा रोक्न नहुने भन्दै यसले देशको इन्धन आयात घटाउने, वातावरण संरक्षणमा सहयोग पुर्याउने र दीगो विकासमा टेवा दिने बताएका छन्।

उनका अनुसार यस्तो रूपान्तरण कार्यक्रम लागू भएमा नेपालमा प्रविधि विकास, रोजगारी सिर्जना तथा स्वदेशी नवप्रवर्तनलाई समेत बल पुग्नेछ।
सरकारले यस विषयलाई प्राथमिकतामा राखेर ठोस नीति तथा कार्यान्वयन योजना ल्याउनुपर्नेमा पुनले जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो