You are currently viewing १५ वर्षदेखि महिला फुटबलको जग बसाउँदै सुर्मा देवी युवा क्लब, राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सफल

१५ वर्षदेखि महिला फुटबलको जग बसाउँदै सुर्मा देवी युवा क्लब, राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सफल

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१९, आइ गाउँस्थित सुर्मा देवी युवा क्लब सुदूरपश्चिममा महिला फुटबलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको क्लबका रूपमा परिचित छ।

विगत १५ वर्षदेखि निरन्तर ग्रासरुट स्तरमा फुटबल प्रशिक्षण सञ्चालन गर्दै आएको क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्न सफल भएको छ।सुदूरपश्चिमको महिला फुटबलको हबका रूपमा समेत चिनिने यस क्लबले स्थानीय बालबालिका तथा युवालाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ।

क्लबबाट प्रशिक्षण लिएका खेलाडीले विभिन्न राष्ट्रिय प्रतियोगितादेखि एन्फाको सी डिभिजन लिग, राष्ट्रिय महिला लिग तथा नेपालका ए डिभिजन क्लबबाट समेत आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन्।क्लबले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि नै सुदूरपश्चिम प्रदेशलाई खेलाडी उपलब्ध गराउँदै आएको छ।

सातौँ राष्ट्रिय खेलकुदमा सिर्जना सुनार र सन्तोषी बोहरा, आठौँ राष्ट्रिय खेलकुदमा विनिता बोहरा, अस्मिता चौधरी र स्वस्तिका राना मगरले प्रदेशको प्रतिनिधित्व गरेका थिए।त्यसैगरी, नवौँ राष्ट्रिय खेलकुदमा विनिता बोहरा, अस्मिता चौधरी र शिवांगी स्नेही तथा दशौँ राष्ट्रिय खेलकुदका लागि विपना स्नेही, सीता रोकाया र पुरुषतर्फ हिरेन्द्रबहादुर सिंहले प्रतिनिधित्व गरेका छन्।क्लबको अर्को महत्वपूर्ण उपलब्धि सन् २०२२ मा बंगलादेशमा आयोजना भएको साफ यू–१५ महिला फुटबल च्याम्पियनसिप हो। उक्त प्रतियोगितामा क्लबका खेलाडी विपना स्नेही र सीता रोकाया नेपाली टोलीमा छनोट हुँदै नेपालको प्रतिनिधित्व गर्न सफल भएका थिए।

नेपालले २९ वर्षपछि साफ च्याम्पियनसिपको उपाधि जित्दा दुवै खेलाडीले स्वर्ण पदकसमेत प्राप्त गरेका थिए।महिला फुटबलको विकास र खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले क्लबले ‘मायामेट्रो हस्पिटल सुदूरपश्चिम महिला गोल्डकप–२०८३’ समेत आयोजना गरेको थियो।

आइगाउँस्थित क्लबकै खेलमैदानमा कात्तिक १८ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए।प्रतियोगितामा विजेता बन्न सफल आयोजक टिमले विजेता ९९ हजार ९९९ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो भने उपविजेता घोडाघोडी क्लब सुक्खडले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाएको थियो। प्रतियोगिताले सुदूरपश्चिममा महिला फुटबलको विकास, खेलाडीको प्रतिभा पहिचान र स्थानीय स्तरमा त्यस्ता किसिमका प्रतियोगिताले प्रतिस्पर्धात्मक खेल वातावरण निर्माणमा योगदान पुर्‍याएको छ।

क्लबका अध्यक्ष राजेन्द्र स्नेहीले विगत १५ वर्षदेखि प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै खेलाडी उत्पादनमा निरन्तर योगदान दिँदै आउनुभएको छ। उहाँले क्लबको दुई कार्यकाल अध्यक्षका रूपमा समेत नेतृत्व गरिसक्नुभएको छ। उहाँ सुदूरपश्चिम प्रदेशका सहायक प्रशिक्षकका रूपमा लुम्बिनी प्रदेशको दाङमा आयोजित प्रतियोगितामा समेत सहभागी भएका थिए।खेलाडी उत्पादन गर्नुका साथै खेलकुदको माध्यमबाट युवालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्न र बालबालिकालाई मोबाइलको अत्यधिक प्रयोग तथा गलत गतिविधिबाट जोगाउँदै अनुशासित जीवनशैलीतर्फ प्रेरित गर्न पनि क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद १५ वर्षदेखि महिला फुटबलको विकासमा निरन्तर लागिरहेको श्री सुर्मा देवी युवा क्लबको यात्रा स्थानीय स्तरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ।