फिफा प्रतिबन्धपछि कैलाली जिल्ला फुटबल संघका सम्पूर्ण औपचारिक कार्यक्रम अस्थायी रूपमा स्थगित
धनगढी, असार १२ — अन्तर्राष्ट्रिय फुटबल महासंघ (FIFA) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनपछि कैलाली जिल्ला फुटबल संघले आफ्ना सम्पूर्ण औपचारिक कार्यक्रमहरू अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।
संघका महासचिव ललित मिश्रद्वारा जारी प्रेस विज्ञप्तिमा हालसम्म सम्पन्न भएका सबै कार्यक्रम, प्रतियोगिता, प्रशिक्षण, रेफ्री तथा प्रशिक्षक विकासलगायतका गतिविधिमा योगदान पुर्याउने सम्पूर्ण कार्यसमिति, पदाधिकारी, खेलाडी, प्रशिक्षक, रेफ्री, स्वयंसेवक र सहयोगीप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
विज्ञप्तिमा एन्फामा देखिएको तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाले नेपाली फुटबलमाथि अस्थायी प्रतिबन्ध लगाएको उल्लेख गर्दै, यो परिस्थितिप्रति कैलाली जिल्ला फुटबल संघ गम्भीर र संवेदनशील रहेको जनाएको छ। साथै, नेपाली फुटबलको विकासप्रति आफ्नो प्रतिबद्धता यथावत् रहेको र वर्तमान असहज अवस्था समाधान भएपछि निर्धारित कार्यक्रम तथा योजनालाई पुनः निरन्तरता दिइने विश्वास व्यक्त गरिएको छ।
संघले सबै सरोकारवाला, फुटबलप्रेमी तथा समर्थकलाई संयमता अपनाउन आग्रह गर्दै सहयोग, साथ र समर्थनका लागि धन्यवाद ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो