प्रदेश फुटबल संघमा पद रिक्त, कैलालीले उठायो गम्भीर प्रश्न : पदपूर्ति प्रक्रिया अघि बढाउन माग
धनगढी । सुदूरपश्चिम प्रदेश फुटबल संघमा लामो समयदेखि केही पद रिक्त रहेको विषयलाई लिएर कैलाली जिल्ला फुटबल संघले औपचारिक रूपमा ध्यानाकर्षण गराएको छ।
कैलाली जिल्ला फुटबल संघले प्रदेश फुटबल संघलाई पठाएको पत्रमा संघको नीति–नियमअनुसार कैलालीबाट सिफारिस तथा प्रतिनिधित्व गर्दै आएका उपाध्यक्ष र निर्वाचित सदस्यका केही पद रिक्त रहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया पूरा गरी पदपूर्ति गर्न आग्रह गरेको छ।

पत्रमा रिक्त पदहरूबारे जानकारी प्राप्त भएको लामो समय बितिसक्दा पनि पदपूर्तिका लागि ठोस प्रक्रिया अघि नबढेकोप्रति जिज्ञासा उत्पन्न हुनु स्वाभाविक भएको उल्लेख गरिएको छ। कैलाली जिल्ला फुटबल संघले यस विषयलाई प्रदेश फुटबलको संस्थागत विकाससँग जोडेर संवेदनशील रूपमा लिन आग्रह गरेको छ।

कैलाली जिल्ला फुटबल संघले प्रदेश संघका गतिविधि तथा कार्यक्रममा आफूले निरन्तर सहकार्य र सहयोग गर्दै आएको उल्लेख गर्दै प्रतिनिधित्व र संस्थागत जिम्मेवारीलाई प्रभावकारी बनाउन रिक्त पदमा यथाशीघ्र प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेको छ।
प्रदेश फुटबल संघको काम कारबाहीलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित पक्षबीच आवश्यक समन्वय हुनु पर्नेमा समेत कैलाली जिल्ला फुटबल संघले जोड दिएको छ।
सुदूरपश्चिम प्रदेश फुटबल संघ एन्फा सँग आबद्ध प्रदेश स्तरीय संरचना हो र कैलाली तथा कञ्चनपुर जिल्ला फुटबल संघ यससँग आबद्ध जिल्ला संघका रूपमा रहेका छन्।

कैलाली जिल्ला फुटबल संघको पत्राचारलाई आरोपका रूपमा नभई संस्थागत प्रक्रिया र पदपूर्तिका लागि गरिएको औपचारिक ध्यानाकर्षणका रूपमा प्रस्तुत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो