घोडाघोडीमा ग्रासरुट फुटबल कार्यक्रम शुभारम्भ
“स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद” नारासहित विद्यालयस्तरबाट अभियान सुरु
कैलाली — “स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद” भन्ने मूल नाराका साथ कैलाली जिल्ला फुटबल सङ्घको समन्वय, घोडाघोडी नगरपालिकाको सहयोग तथा सहारा युवा क्लब पहलमानपुर, कैलालीको व्यवस्थापनमा आज सामुदायिक तथा निजी विद्यालयहरू लक्षित ग्रासरुट फुटबल कार्यक्रम एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ।
कार्यक्रम श्री कान्तिराज्यलक्ष्मी मा.वि. को खेल मैदानमा सम्पन्न भएको हो।
सभाको अध्यक्षता निर्मल कुमार मिश्रले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खड्क रावत उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा घोडाघोडी नगरपालिकाका युवा तथा शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंह, कैलाली गाउँपालिका शिक्षा शाखा प्रमुख तथा कैलाली जिल्ला फुटबल संघका सदस्य एवं पूर्व राष्ट्रिय खेलाडी सन्तोष चौधरीको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा जोड्नु अत्यन्तै आवश्यक रहेको धारणा व्यक्त गर्दै यसले उनीहरूमा आत्मविश्वास, सहकार्य भावना, नेतृत्व क्षमता र स्वस्थ जीवनशैलीको विकास गर्ने उल्लेख गरे।
ग्रासरुट फुटबल कार्यक्रमले विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास गर्दै भविष्यका दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
यस ऐतिहासिक सुरुवातका लागि सम्बन्धित सम्पूर्ण निकाय, प्रशिक्षकहरू, विद्यालय परिवार, अभिभावक तथा उपस्थित खेलप्रेमीहरूलाई सहारा युवा क्लबले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो