कैलाली–४ का एजेन्डा बोकेर प्रदेश सरकारसमक्ष पुगे नेता ‘आनन्द’

धनगढी, कैलाली : नेपाली कांग्रेसका युवा नेता गोरखबहादुर बिष्ट ‘आनन्द’ ले कैलाली निर्वाचन क्षेत्र नम्बर–४ का बहुप्रतीक्षित विकास योजनालाई आगामी आर्थिक वर्षको प्रदेश बजेटमा समेट्न सुदूरपश्चिम प्रदेश सरकारसँग आग्रह गरेका छन्।
मंगलबार नेता आनन्दसहित कांग्रेसका क्षेत्रीय तथा स्थानीय नेताहरूको टोलीले मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, राज्यमन्त्री प्रकाशबहादुर बम तथा सामाजिक विकास मन्त्री मेघराज खड्कासँग भेट गर्दै कैलाली–४ का विकास प्राथमिकताबारे ध्यानाकर्षण गराएको हो।
टोलीमा क्षेत्रीय सभापति ललित रोकाया ‘वसन्त’, प्रदेश सभा सदस्य तुलसी देवकोटा, क्षेत्रीय सचिव विष्णुप्रसाद भाट, गौरीगंगा नगर सभापति पहलविक्रम चन्द, प्रदेश “क” सभापति काशीराम शर्मा तथा युवा नेता छत्रबहादुर बम लगायत सहभागी थिए।
भेटका क्रममा चुरे र मोहन्याल गाउँपालिकामा वर्षभरि सञ्चालन हुने सडक निर्माणलाई पहिलो प्राथमिकतामा राख्न माग गरिएको थियो। वर्षायाममा सडक अवरुद्ध हुँदा स्थानीयले भोग्दै आएको समस्या समाधानका लागि प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्नेमा टोलीले जोड दिएको छ।
त्यसैगरी आधुनिक कृषि प्रणाली, सिँचाइ विस्तार, कृषि अनुदान, उत्पादन वृद्धि, बजार व्यवस्थापन, जोखिमयुक्त बस्तीमा तटबन्ध, स्वास्थ्य सेवा पहुँच, शैक्षिक गुणस्तर सुधार, प्राविधिक शिक्षा र युवालाई स्वरोजगार बनाउने कार्यक्रमलाई पनि आगामी बजेटमा समेट्न आग्रह गरिएको छ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आनन्दले निर्वाचनको परिणामभन्दा जनतासँग गरिएको प्रतिबद्धता ठूलो विषय भएको बताए।
“जित वा हार राजनीतिक प्रक्रियाको हिस्सा हो, तर जनतासँग बोलेका विकासका एजेन्डा पूरा गर्नु हाम्रो जिम्मेवारी हो,” उनले भने।
उनले सुदूरपश्चिम प्रदेश सरकार कैलालीका दुर्गम क्षेत्रको विकासप्रति सकारात्मक देखिएको उल्लेख गर्दै आगामी बजेट जनताको आवश्यकता केन्द्रित हुने विश्वास व्यक्त गरे।
प्रदेश सरकारसँगको यो भेटलाई कैलाली–४ को विकास एजेन्डालाई प्रदेशस्तरमा उठाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो