केदारेश्वर सामुदायिक वनको कार्यालयमा आगजनी, भवनसहित महत्वपूर्ण कागजात जलेर नष्ट
धनगढी, असार ७ – कैलालीको गौरीगंगा नगरपालिका–३ स्थित केदारेश्वर सामुदायिक वन उपभोक्ता समूहको कार्यालय भवनमा अज्ञात व्यक्तिले आगजनी गर्दा भवनसहित कार्यालयका महत्वपूर्ण कागजात, फर्निचर तथा अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

सामुदायिक वन उपभोक्ता समूहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असार ६ गते शनिबार राति करिब २:३० देखि ३ बजे बीचमा अज्ञात व्यक्तिहरू द्वारा योजनाबद्ध रूपमा आगजनी गरिएको उपभोक्ता समितिले जनाएकाे छ। आगलागीका कारण कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने वनको प्रशासनिक तथा व्यवस्थापकीय कार्य सञ्चालनका लागि आवश्यक सम्पूर्ण कागजात, सरसामान र फर्निचर जलेर नष्ट भएको जनाइएको छ।

वन उपभोक्ता समूहले उक्त घटनालाई सार्वजनिक तथा सामुदायिक सम्पत्तिमाथिको गम्भीर आपराधिक कार्यको संज्ञा दिँदै कडा शब्दमा भर्त्सना गरेको छ। समूहले दोषीको तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन तथा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
यसैबीच, समूहले इलाका प्रहरी कार्यालय चौमालालाई पत्राचार गर्दै घटनाको निष्पक्ष अनुसन्धान, दोषीको पहिचान तथा क्षतिको यथार्थ विवरण संकलन गरी क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक पहल गर्न अनुरोध गरेको छ।
वन उपभोक्ता समूहका अध्यक्ष हर्क बहादुर नेगीले सामुदायिक सम्पत्तिमाथि भएको यस्तो घटनाले सम्पूर्ण उपभोक्तामा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको भन्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन प्रशासनसँग माग गरेका छन्। आगलागीको कारण र संलग्न व्यक्तिको पहिचानबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो