कांग्रेसका उम्मेदवारको सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्न दिनेश कलेलको माग

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जिल्ला, प्रदेशदेखि केन्द्रीय तहसम्म उम्मेदवारी दिने सबै उम्मेदवारले आफ्नो सम्पूर्ण चल–अचल सम्पत्तिको विवरण पार्टी केन्द्रीय समितिसमक्ष अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गर्नुपर्ने माग उठेको छ।
नेपाली कांग्रेस क्षेत्र नं. ४, कैलालीका महाधिवेशन प्रतिनिधि दिनेश कलेलले राजनीतिक नेतृत्वलाई आर्थिक पारदर्शिता, वित्तीय अनुशासन र जवाफदेहितासँग जोड्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।

कलेलले आर्थिक पारदर्शिता र वित्तीय अनुशासनबिना पार्टीको राजनीतिक शुद्धता सम्भव नहुने बताएका छन्। उनका अनुसार पार्टीको विभिन्न तहमा उम्मेदवारी दिने प्रत्येक व्यक्तिले आफ्नो सम्पूर्ण चल–अचल सम्पत्तिको विवरण पार्टी केन्द्रीय समितिसमक्ष अनिवार्य रूपमा पेश गर्ने व्यवस्था गर्नुपर्छ।
उनले राजनीतिक नेतृत्व धनबल, आर्थिक पहुँच र अपारदर्शी आर्थिक स्रोतका आधारमा नभई योगदान, क्षमता, निष्ठा, त्याग र जनसम्बन्धका आधारमा स्थापित हुनुपर्नेमा जोड दिएका छन्।

‘नेपाली कांग्रेस कुनै सीमित सुकिला–मुकिला र आर्थिक पहुँच भएका व्यक्तिहरूको पार्टी होइन,’ कलेलले भनेका छन्, ‘यो हजारौँ त्यागी, कर्मठ, निष्ठावान् र संघर्षशील कार्यकर्ताको पार्टी हो।’
उनले १५औँ महाधिवेशनलाई केवल नेतृत्व परिवर्तन गर्ने अवसरका रूपमा मात्र नभई वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र राजनीतिक संस्कारको नयाँ सुरुवात गर्ने महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन्।

कलेलले महाधिवेशनबाट पार्टीभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने संस्कारको विकास गर्दै धनबलको राजनीतिलाई निरुत्साहित र निष्ठा तथा योगदानको राजनीतिलाई बलियो बनाउनुपर्ने बताएका छन्।
‘सम्पत्ति विवरण सार्वजनिक गरौँ, धनबलको राजनीति निरुत्साहित गरौँ र निष्ठा तथा योगदानको राजनीतिलाई बलियो बनाऔँ,’ उनले अपिल गरेका छन्।
दिनेश कलेल नेपाली कांग्रेस क्षेत्र नं. ४, कैलालीका महाधिवेशन प्रतिनिधि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो