You are currently viewing कर्णालीमा डुङ्गा दुर्घटना : बाबुछोराको ज्यान गयो, पुल अभावले फेरि उठायो प्रश्न

कर्णालीमा डुङ्गा दुर्घटना : बाबुछोराको ज्यान गयो, पुल अभावले फेरि उठायो प्रश्न

अछाम–सुर्खेत जोड्ने जोखिमपूर्ण यात्रा, स्थानीय भन्छन्– “झोलुङ्गे पुल भए यस्तो दुःखद घटना हुने थिएन”

अछाम, वैशाख १०|अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका ११ वर्षीय छोरा नरेश बुढाको कर्णाली नदीमा डुङ्गा पल्टिँदा ज्यान गएको छ। वैशाख ३ गते घाँस काट्न सुर्खेतको पञ्चपुरी क्षेत्रमा गएका उनीहरू फर्किने क्रममा दुर्घटनामा परेका हुन्।

घटनाका अनुसार पहलसिंह आफ्ना दुई छोराहरू दिलीप (१४) र नरेश (११) लाई लिएर काठे डुङ्गामार्फत कर्णाली नदी पार गरी घाँस काट्न गएका थिए। दिनभर घाँस काटिसकेपछि उनीहरूले तीन भारी घाँस तयार पारे। जेठो छोरा दिलीपले पालैपालो घाँस नदीपारि पुर्‍याएपछि बुबा र भाइ लिन फेरि डुङ्गा लिएर पारि पुगेका थिए।

साँझ परिसकेको अवस्थामा दिलीपले बुबालाई पालैपालो वारपार गरौं भन्ने प्रस्ताव राखे पनि पहलसिंहले सबै जना एकैपटक जाने निर्णय गरे। तर नदीको बीच भागमा पुगेपछि डुङ्गा अचानक पल्टियो।

डुङ्गा पल्टिएपछि दिलीप भने पौडी खेलेर ज्यान जोगाउन सफल भए। तर ११ वर्षीय नरेश डुङ्गामै च्यापिएका थिए। उनलाई बचाउन पहलसिंहले छोरालाई पिठ्युँमा बोकेर पौडिन खोज्दा तीव्र बहावका कारण दुवैजना बेपत्ता भए।

घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी कार्य सञ्चालन गरेको थियो। खोजीका क्रममा वैशाख ५ गते नरेशको शव र ६ गते पहलसिंहको शव कर्णाली नदीको खोँचमा फेला परेको प्रहरीले जनाएको छ।

यस घटनापछि मृतकको परिवार मात्र नभई सम्पूर्ण गाउँ शोकमा डुबेको छ। पहलसिंहको परिवार कृषि तथा पशुपालनमा निर्भर थियो भने माछा मार्ने कार्य पनि उनीहरूको आयआर्जनको मुख्य स्रोत थियो।

हाल जेठो छोरा दिलीप स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् भने नरेश कक्षा ४ मा पढ्दै आएका थिए। श्रीमान् र कान्छो छोराको निधनपछि ३३ वर्षीया शान्तिकुमारी माझी (बुढा) गहिरो मानसिक आघातमा परेकी छन्। परिवारको आर्थिक भविष्यसमेत अन्योलमा परेको छ।

स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा हालसम्म झोलुङ्गे पुल नहुँदा दैनिक आवतजावत अत्यन्त जोखिमपूर्ण बनेको छ। कर्णाली नदी वारपार गर्न बाध्य स्थानीयहरू पटकपटक पुल निर्माणको माग गर्दै आए पनि कुनै ठोस पहल नभएको गुनासो गरेका छन्।

स्थानीय दुर्गबहादुर बिसी भन्छन्, “घाँस ल्याउनै नदी पार गर्नुपर्छ, जहिले पनि जोखिम हुन्छ। पुल भए यस्तो घटना दोहोरिँदैन थियो।”

यस घटनाले पुनः दुर्गम क्षेत्रका नागरिकले भोग्दै आएको आधारभूत पूर्वाधार अभावको समस्या उजागर गरेको छ। अहिले स्थानीयवासीले सुरक्षित आवतजावतका लागि तत्काल झोलुङ्गे पुल निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner