२१ वर्ष मुनिका युवाको प्रतिस्पर्धा : पाँचौं गौरीगंगा मेयर कपको तेस्रो दिन वडा नं. ५ र वडा नं. ७ विजयी

गौरीगंगा, कैलाली /जेठ १८। युवाहरूमा अनुशासन, लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गौरीगंगा नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको पाँचौं गौरीगंगा मेयर कप–२०८३ पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिनका खेलहरू उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन्।
२१ वर्षमुनिका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा तेस्रो दिन पुरुषतर्फ दुई खेल सम्पन्न भएका हुन्। पहिलो खेलमा वडा नं. ४ र वडा नं. ५ बीच प्रतिस्पर्धा भएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा वडा नं. ५ ले वडा नं. ४ लाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गर्यो।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ५ का जर्सी नं. ७ का गणेश साउद म्यान अफ दि म्याच घोषित भए। उनलाई गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बम ले पुरस्कार प्रदान गरेका थिए।
त्यसैगरी दोस्रो खेलमा वडा नं. ७ र वडा नं. ९ आमनेसामने भएका थिए। खेलको सुरुदेखि नै दबाब बनाएको वडा नं. ७ ले वडा नं. ९ माथि ४–० गोलको प्रभावशाली जित निकाल्यो। खेलका उत्कृष्ट खेलाडी विरेन्द्र सुनार म्यान अफ दि म्याच घोषित भए। उनलाई गौरीगंगा नगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद भाट ले पुरस्कार वितरण गरेका थिए।

गौरीगंगा नगरपालिकाले युवाहरूलाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा संलग्न गराउने, नेतृत्व क्षमता तथा अनुशासनको विकास गर्ने र लागूऔषध दुर्व्यसन न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिरहेको जनाएको छ।
प्रतियोगितामा नगरपालिका भित्रका ११ वटा वडाका पुरुष तथा महिला टोलीहरूको उल्लेखनीय सहभागिता रहेको छ। स्थानीय खेल प्रतिभाको पहिचान र विकासमा समेत प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगिताका आगामी खेलहरू पनि थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आयोजकको विश्वास छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो