धनगढीमा कुकुरको टोकाइबाट सुरु विवाद, एक जनाको मृत्यु — हत्या वा दुर्घटना?
धनगढी — धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगर बुद्धमार्गमा कुकुरको टोकाइबाट सुरु भएको सामान्य विवाद एक व्यक्तिको ज्यान जाने गम्भीर घटनामा परिणत भएको छ।

स्थानीय ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएपछि उनका परिवारले छिमेकी महेश श्रेष्ठमाथि कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन् भने आरोपित पक्षले उक्त आरोप अस्वीकार गरेको छ।
घटनाका अनुसार बैशाख २ गते चौधरीले पालेको कुकुरले श्रेष्ठको कुकुरलाई टोकेको थियो। सोही क्रममा उक्त कुकुरको मृत्यु भएपछि दुई परिवारबीच विवाद चर्किएको बताइएको छ। मृतकका परिवारका अनुसार कुकुर मरेपछि श्रेष्ठले ‘खुनको बदला खुन’ लिने धम्कीसमेत दिएका थिए।

सोही दिन राति करिब ११ बजे श्रेष्ठले चौधरीलाई आफ्नो घरमा बोलाएका थिए। पहिलो पटक नगएका चौधरी दोस्रो पटक जाँदा लामो समयसम्म घर नफर्किएपछि श्रीमती र छोराले खोजी गरेका थिए। उनीहरूका अनुसार श्रेष्ठको घरमा पुगेपछि चौधरी अचेत अवस्थामा भेटिएका थिए।
मृतककी श्रीमती रुपा चौधरीका अनुसार “शरीरमा कुटपिटका चोटपटक देखिन्थ्यो, छततर्फ जाने सिढीमुनि राखेर आइसले सेकिरहेको र पानी हालिरहेको अवस्थामा भेट्यौं।” तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
परिवारले कुटपिट गरी हत्या गरिएको दाबी गर्दै श्रेष्ठविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको छ।

यता, श्रेष्ठ पक्षले भने कुटपिटको आरोप अस्वीकार गरेको छ। उनीहरूका अनुसार चौधरी मरेको कुकुर हेर्न छतमा गएका थिए र फर्किने क्रममा सिढीबाट लडेर अचेत भएका हुन्। “होसमा ल्याउन आइस र पानी प्रयोग गरेका हौं, कुटपिट भएको होइन,” आरोपितका परिवारले बताएका छन्।
घटनापछि चौधरीको शव सेती प्रादेशिक अस्पताल मा राखिएको छ भने प्रहरीले महेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली का प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ र श्रेष्ठलाई सोधपुछका लागि हिरासतमा राखिएको छ।

मृतक चौधरी मजदुरी गर्दै परिवार पाल्दै आएका थिए। पेसाले पेन्टर रहेका उनी मिलनसार स्वभावका व्यक्ति रहेको छिमेकीहरूले बताएका छन्। उनको मृत्युले परिवार शोकमा डुबेको छ भने आर्थिक रूपमा समेत समस्या उत्पन्न भएको छ।प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो