You are currently viewing गंगादशहरा मेलामा निसर्ग हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य सेवा, भण्डाराका लागि खाद्यान्न सहयोग

गंगादशहरा मेलामा निसर्ग हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य सेवा, भण्डाराका लागि खाद्यान्न सहयोग

गंगादशहरा मेलामा निसर्ग हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य सेवा, भण्डाराका लागि खाद्यान्न सहयोग

धनगढी, कैलाली – धनगढी उपमहानगरपालिका– १६ रामपुर स्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको बेहेडाबाबा धाममा सुरु भएको गंगादशहरा मेला लाई लक्षित गर्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गरेको छ। मेलामा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै मन्दिर परिसरमै स्वास्थ्य शिविरसहित आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।

निसर्ग हस्पिटलका अध्यक्ष तिर्थ पन्तका अनुसार मेलाको अवधिभर भक्तजनहरूलाई आवश्यक प्राथमिक उपचार, स्वास्थ्य परामर्श, रक्तचाप परीक्षण, सामान्य स्वास्थ्य जाँच तथा मेडिकल इमर्जेन्सी सेवा प्रदान गरिनेछ। विशेषगरी अत्यधिक भीडभाडका कारण हुन सक्ने स्वास्थ्य समस्या, गर्मीजन्य असर तथा आकस्मिक बिरामीको तत्काल उपचारका लागि दक्ष स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको टोली परिचालन गरिएको जनाइएको छ।

यसैबीच, धार्मिक तथा सामाजिक कार्यमा निरन्तर सहकार्य गर्दै आएको निसर्ग हस्पिटलले बेहेडाबाबा धाममा सञ्चालन हुने भण्डारा व्यवस्थापनका लागि रु. ५० हजार बराबरको खाद्यान्न सामग्रीसमेत सहयोग गरेको छ। उक्त सामग्री बेहेडाबाबा धाम कार्यसमितिलाई  नीसर्ग हस्पिटलका अध्यक्ष तिर्थ पन्त द्वारा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

निसर्ग हस्पिटलले धार्मिक आस्था, मानव सेवा र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने उद्देश्यले हरेक वर्ष विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। गंगादशहरा मेलाजस्तो ठूलो धार्मिक अवसरमा स्वास्थ्य सेवा उपलब्ध गराउनु आफ्नो सामाजिक दायित्व भएको हस्पिटलका अध्यक्ष तिर्थ पन्तले बताउनु भएको छ।

बेहेडाबाबा धाममा प्रत्येक वर्ष गंगादशहरा मेलाका अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लासहित भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन आउने गर्दछन्। मेलामा पूजाआजा, भजनकीर्तन, धार्मिक अनुष्ठान तथा भण्डाराजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner