पाँचौं गौरीगंगा मेयर कपमा वडा नं. १० र वडा नं. १ विजयी, जनक साउद र उमेश साउद बने म्यान अफ दि म्याच
गौरीगंगा, कैलाली । युवाहरूमा अनुशासन, लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा सामाजिक सद्भाव कायम गर्दै खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले गौरीगंगा नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको पाँचौं गौरीगंगा मेयर कप–२०८३ पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनका खेलहरू उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन्।

दोस्रो दिनको पहिलो खेल वडा नं. ८ र वडा नं. १० बीच भएको थियो। निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि भएको ट्राइब्रेकरमा वडा नं. १० ले उत्कृष्ट प्रदर्शन गर्दै विजयी बन्न सफल भयो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. १० का जनक साउद म्यान अफ दि म्याच घोषित भए। उनलाई वडा नं. १ का वडा अध्यक्ष डबल दियाकोटीले पुरस्कार वितरण गरेका थिए।
त्यसैगरी दोस्रो खेल वडा नं. १ र वडा नं. ६ बीच सम्पन्न भएको थियो। प्रतिस्पर्धात्मक खेलमा वडा नं. १ ले शानदार जित दर्ता गर्दै अर्को चरणमा स्थान सुरक्षित गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. १ का उमेश साउद म्यान अफ दि म्याच घोषित भए। उनलाई वडा नं. ६ का वडा अध्यक्ष टेक कुँवरले पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगिताले युवाहरूलाई खेलकुदमार्फत सकारात्मक दिशातर्फ अग्रसर गराउनुका साथै सामाजिक एकता, अनुशासन र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गरिरहेको आयोजकले जनाएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न वडाका पुरुष तथा महिला टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो