फिफा यू–१५ विश्वकप फुटबलका लागि कैलालीबाट ६ सय खेलाडीको सहभागि छनोट प्रक्रिया, ८९ खेलाडीहरुको नामावली सार्वजनिक
धनगढी, कैलाली। आगामी अक्टोबर २२ देखि ३१ सम्म आयोजना हुने फिफा यू -१५ विश्वकप फुटबल फेस्टिभल २०२६ का लागि कैलाली जिल्लाबाट खेलाडी छनोट प्रक्रिया सम्पन्न भएको छ
कैलाली जिल्ला फुटबल संघका अनुसार जिल्लाका विभिन्न स्थानबाट करिब ६ सय युवा खेलाडी छनोट प्रक्रियामा सहभागी भएका थिए। सहभागी मध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू लाई थप छनोटका लागि अघि बढाइएको छ।

कैलाली जिल्ला फुटबल संघले सार्वजनिक गरेको नामावली अनुसार बजनी रंगशाला, शैलपाल युवा क्लबको खेलमैदान तथा धनगढी रंगशाला लगायतका स्थानमा भएको छनोट बाट कुल ८९ खेलाडी छनोटमा परेका छन्।
संघले सार्वजनिक गरेको सूचनामा छनोट भएका खेलाडीहरूले सुदूरपश्चिम प्रदेश फुटबल संघले आयोजना गर्ने आगामी छनोट कार्यक्रममा सहभागी हुन आवश्यक कागजात सहित उपस्थित हुनुपर्ने जनाएको छ।

छनोटमा सहभागी खेलाडीहरूले जन्म दर्ताको सक्कल प्रमाणपत्र, १ प्रति पासपोर्ट साइज फोटो, अभिभावकको नागरिकताको प्रतिलिपि तथा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाइएको छ।

कैलालीबाट ठूलो संख्यामा युवा खेलाडीहरू छनोट प्रक्रियामा सहभागी हुनु जिल्लामा फुटबल प्रतिको बढ्दो आकर्षण र सम्भावनाको संकेतका रूपमा हेरिएको छ। अब छनोट भएका खेलाडीहरूले प्रदेश स्तरीय प्रक्रियामा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन्।

कैलाली जिल्ला फुटबल संघले ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित जिल्लामा युवा फुटबल विकासका गतिविधि लाई निरन्तरता दिँदै आएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो