जनतासँग प्रत्यक्ष संवादमा रास्वपाको बलियो उपस्थिति
कैलाली–४ मा खेमराज कोइरालाको अभियानले पाउँदै गयो सकारात्मक लहर
कैलाली ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइरालाको उम्मेदवारीसँगै परिवर्तनमुखी राजनीतिक बहस थप सशक्त बन्दै गएको छ। “अब भाषण होइन, कामको राजनीति” भन्ने मूल सन्देशसहित अघि बढाइएको अभियानले क्षेत्रभर उत्साहको वातावरण सिर्जना गरेको छ।
बिभिन्न वडाहरूमा आयोजित जनतासँग अन्तरक्रिया कार्यक्रम तथा घरदैलो अभियानका क्रममा आफूले अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको उम्मेदवार कोइरालाले बताएका छन्। जनताको अपनत्व, सुझाव र समर्थनले अभियानप्रति विश्वास बढ्दै गएको र दिनप्रतिदिन आफ्नो माहोल सशक्त बन्दै गएको उनको भनाइ छ।
अन्तरक्रियाका क्रममा कोइरालाले भने, “अबको परिवर्तन राष्ट्रिय स्वतन्त्र पार्टीले गर्छ। हामीजस्ता स्पष्ट भिजन, इमानदार सोच र जवाफदेही युवा नेतृत्वबाट मात्र वास्तविक परिवर्तन सम्भव छ।” उनका अनुसार पुरानो राजनीतिक शैलीले देशलाई निकास दिन नसकेको जनताले बुझिसकेका छन्, त्यसैले नयाँ सोच र नयाँ संस्कारको आवश्यकता छ।
रास्वपाले राजनीतिक निर्णय अब बन्द कोठामा होइन, जनताको माझबाटै हुने स्पष्ट अडान अघि सारेको छ। पार्टीका अनुसार वर्षौंदेखि दोहोरिएका असफल अभ्यासप्रति निराश नागरिकका लागि रास्वपा एक भरोसायोग्य विकल्पका रूपमा स्थापित हुँदै गएको छ।
“हामी वाचा बेच्दैनौँ, काम गरेर देखाउँछौँ” भन्ने प्रतिबद्धतासहित पार्टीले परिणाममुखी र उत्तरदायी राजनीतिक संस्कार विकास गर्ने दाबी गरेको छ।
चुनावी एजेन्डामा स्थानीय रोजगारी, सुशासन, प्रभावकारी सेवा प्रवाह, जवाफदेहिता र भ्रष्टाचारविरुद्ध कडा कदमलाई प्राथमिकतामा राखिएको छ। यी विषयहरू जनजीवनसँग प्रत्यक्ष जोडिएकाले अभियान जनमुखी र व्यवहारिक बन्दै गएको पार्टीको दाबी छ।
अभियानका क्रममा “युवा उठ, परिवर्तन जुट”, “अब देश हाम्रै पालो” जस्ता नाराले जनसमर्थन थप मजबुत बनाइरहेका छन्। घरदैलो, खुला संवाद र प्रत्यक्ष छलफलमार्फत कैलाली–४ लाई परिवर्तनको केन्द्र बनाउने लक्ष्य लिइएको छ।
रास्वपाले यस निर्वाचनलाई सत्ता प्राप्तिको प्रतिस्पर्धाभन्दा माथि उठेर राजनीतिक संस्कार परिवर्तनको अवसरका रूपमा व्याख्या गरेको छ। अन्त्यतर्फ “जय देश” र “जय घन्टी”का नारासहित लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागिताको आह्वान गरिएकोछ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो