प्रशोधित पिउने पानीको मूल्य बढ्ने तयारी, लागत वृद्धि कारण उद्योग दबाबमा

काठमाडौं, वैशाख ५ — प्रशोधित पिउने पानीको मूल्य निकट भविष्यमा बढ्ने संकेत देखिएको छ। नेपाल पानी उद्योग महासंघले उत्पादन लागत अत्यधिक वृद्धि भएको भन्दै सदस्य उद्योगीहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको हो।
महासंघका अनुसार देशभर ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसले करिब ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएका छन्। यस क्षेत्रमा १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। सुरक्षित तथा गुणस्तरीय पिउने पानी उपलब्ध गराउँदै आएको यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्र, राजस्व संकलन तथा बजार आपूर्ति प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
तर पछिल्लो समय उद्योग सञ्चालन खर्च उल्लेखनीय रूपमा बढेको महासंघले जनाएको छ। पानी उत्पादनमा प्रयोग हुने बोतल, क्याप, जारजस्ता कच्चा सामग्रीको मूल्य करिब ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। साथै डिजेल तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी खर्च पनि उच्च भएको छ।
महासंघले अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव पनि उद्योगमा परेको जनाएको छ। विशेषगरी इरान–इजरायल तथा इरान–अमेरिका सम्बन्धमा देखिएको तनावका कारण कच्चापदार्थ आपूर्ति प्रणाली प्रभावित हुँदा मूल्य र उपलब्धतामा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ।
उद्योगी, प्रदेश तथा जिल्ला संघहरूसँगको परामर्श र अध्ययनपछि हालको मूल्यमा उद्योग सञ्चालन गर्न कठिन भएको निष्कर्षमा महासंघ पुगेको छ। महासंघले यो निर्णय नाफामुखी नभई बाध्यात्मक भएको स्पष्ट पारेको छ।
यसैबीच, महासंघले सरकारसँग उद्योग सञ्चालन सहज बनाउन, कच्चापदार्थ आपूर्ति सुनिश्चित गर्न तथा ढुवानी लागत नियन्त्रणका लागि आवश्यक नीतिगत र कूटनीतिक पहल गर्न माग गरेको छ।
उपभोक्ता, वितरक, सञ्चारमाध्यम तथा सरोकारवाला निकायलाई मूल्य समायोजनलाई उद्योग संरक्षण, रोजगारी सुरक्षा तथा सेवा निरन्तरताका लागि आवश्यक कदमका रूपमा बुझ्न र सहयोग गर्न महासंघले अपिल गरेको छ।
महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले उद्योगको दिगोपना, उपभोक्ता हित र राष्ट्रिय अर्थतन्त्रलाई केन्द्रमा राखेर महासंघ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो