You are currently viewing खानीडाडामा एमालेका प्रभावशाली नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश, चुरे–५ को राजनीतिक समीकरण फेरिने संकेत

खानीडाडामा एमालेका प्रभावशाली नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश, चुरे–५ को राजनीतिक समीकरण फेरिने संकेत

खानीडाडामा एमालेका प्रभावशाली नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश, चुरे–५ को राजनीतिक समीकरण फेरिने संकेत

खानीडाडा, कैलाली – नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रम कैलालीको चुरे क्षेत्रमा तीव्र बन्दै गएको छ। चुरे गाउँपालिका–५, खानीडाडा मा आयोजित एक औपचारिक कार्यक्रममार्फत एमालेका सक्रिय स्थानीय नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेस प्रवेश गर्नेहरूमा गोरखबहादुर धामी, सागरबहादुर मगर, बालकृष्ण कँडेल, मान जाग्री, ललित तामाङ, प्रकाशबहादुर बोहरा र पुरन धामी रहेका छन्। उनीहरूलाई गोरखबहादुर बिष्ट “आनन्द” ले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। बिष्ट नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बिष्टले चुरे क्षेत्रको दिगो र सन्तुलित विकासलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताए। उनले सडक सञ्जाल विस्तार, सिँचाइ सुविधा वृद्धि, सुरक्षित खानेपानी व्यवस्थापन, गुणस्तरीय शिक्षा तथा सुलभ स्वास्थ्य सेवाको पहुँच विस्तारमा ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “जनताको चाहना विकास, सुशासन र पारदर्शिता हो। त्यसका लागि कांग्रेसले स्पष्ट योजना, उत्तरदायी नेतृत्व र कार्यान्वयनमुखी रणनीति अघि सारेको छ। चुरे क्षेत्रलाई विकासको मूलधारमा जोड्न हामी दृढ छौँ।”

नवप्रवेशीहरूले स्थानीय आवश्यकता, जनअपेक्षा र दीर्घकालीन विकास दृष्टिकोणलाई मध्यनजर गर्दै राजनीतिक निर्णय लिएको बताए। उनीहरूले कांग्रेसमार्फत चुरे क्षेत्रको समग्र विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले पूर्वाधार विकाससँगै वन तथा पर्यावरण संरक्षण, रोजगारी सिर्जना, युवा लक्षित कार्यक्रम र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने धारणा राखेका थिए।

चुरे गाउँपालिका–५ मा एमालेका सक्रिय व्यक्तित्वहरू कांग्रेसमा प्रवेश गरेसँगै क्षेत्रीय राजनीतिक माहोल थप तातेको छ। स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचन समीकरणमा यस घटनाले महत्वपूर्ण प्रभाव पार्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।

चुरे क्षेत्रमा बढ्दो पार्टी प्रवेश र कार्यकर्ता उत्साहले आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाउने संकेत देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

Loading spinner