नेपाली कांग्रेस कैलाली–४ द्वारा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक
गोरखबहादुर बिष्ट ‘आनन्द’ र यज्ञनिधि कोइराला को उपस्थितिमा विकासका एजेन्डा अघि सारियो
कैलाली, नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ ले प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष) उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ तथा समानुपातिक उम्मेदवार यज्ञनिधि कोइरालाको उपस्थितिमा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। क्षेत्र नं. ४ का जनताको आवश्यकता, सम्भावना र दीर्घकालीन विकासका प्राथमिकतालाई समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो।
कार्यक्रममा बोल्दै उम्मेदवार बिष्टले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राखेर समग्र क्षेत्रीय विकासको योजना अघि सारिएको बताए। उनले वडा, पालिका तथा प्रदेश सरकारसँग समन्वय गर्दै संघीय सरकारमार्फत आवश्यक योजना तथा बजेट ल्याई क्षेत्र नं. ४ लाई विकासको नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
प्रतिबद्धता पत्रमा कृषि, पशुपालन तथा सहकारीको आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक तथा अन्य पूर्वाधार विस्तार, महिला, दलित, आदिवासी, जनजाति तथा पछाडि परेका समुदायको सशक्तीकरण, समावेशिता प्रवर्द्धन, उद्योग र लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रसँग सहकार्य, युवा तथा स्वरोजगार कार्यक्रम विस्तार लगायतका विषयलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ।
उम्मेदवार बिष्टले खेलकुदलाई विशेष रूपमा प्राथमिकतामा राखिएको जानकारी दिँदै खेलमैदान निर्माण तथा स्तरोन्नति, खेलाडी पहिचान र प्रशिक्षण कार्यक्रममार्फत युवालाई अवसर प्रदान गरिने बताए।
यसै अवसरमा समानुपातिक उम्मेदवार यज्ञनिधि कोइरालाले जनताका समस्या समाधानका लागि आफूले कुनै कसर बाँकी नराखी इमान्दार र जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता जनाए। उनले विकास, सुशासन र जनउत्तरदायित्वलाई आफ्नो प्रमुख प्राथमिकता हुने स्पष्ट पारे।
कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक दुवै उम्मेदवारले क्षेत्र नं. ४ का सम्पूर्ण मतदातालाई आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख मा मतदान गरी विजयी गराउन हार्दिक आग्रह गरेका छन्। उनीहरूले जनताको साथ र विश्वासकै बलमा सार्वजनिक गरिएका प्रतिबद्धता कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेस कैलाली–४ द्वारा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रलाई क्षेत्रीय विकासको स्पष्ट कार्यदिशा र जनतासँग गरिएको प्रतिबद्ध वाचा का रूपमा हेरीएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो