काठमाण्डौं,नेपाल: नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। चैत २३ गते बसेको बैठकले आर्थिक वर्ष २०७६ का वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन गर्ने निर्णय गरेको हो।

बैठकले क्यानको वार्षिक साधारणसभा २०८२ वैशाख २७ र २८ गते कोशी प्रदेशको विराटनगरमा आयोजना गर्ने निर्णय समेत गरेको छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरको करार सम्झौता अवधि सकिन लागेको अवस्थामा उक्त मैदानलाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न रंगशालाको रूपमा विकास गर्न पहल गर्ने निर्णय गरिएको छ। मैदानको व्यवस्थापन तथा स्वामित्व सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् मार्फत नेपाल सरकारसँग आवश्यक समन्वय गरिने जनाइएको छ।

क्यानले २० जिल्लाको कार्यकाल जेठ मसान्तसम्म थप गर्ने निर्णय पनि गरेको छ। साथै, ती जिल्लाहरूमा साधारणसभा सम्पन्न भएपछि मात्रै नयाँ निर्वाचन प्रक्रिया अघि बढाइने बताइएको छ।

नेपाल प्रिमियर लिग (NPL) सम्बन्धमा पनि बैठकले महत्वपूर्ण निर्णय गरेको छ। प्रतियोगिताको आय–व्यय विवरण अनुसार कुल आम्दानी ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतियोगिता सञ्चालन खर्च करिब २१ करोड ९६ लाख रुपैयाँ रहेको छ। राजस्व बाँडफाँडअघि करिब २५ करोड ३९ लाख रुपैयाँ आम्दानी रहेकोमा ५० प्रतिशत रकम ८ फ्रेन्चाइज टोलीलाई वितरण गरिएको छ। क्यानको हिस्सा करिब ९ करोड २१ लाख रुपैयाँ रहेको उल्लेख छ।

त्यसैगरी, आईसीसी फन्डिङ निर्देशिका अनुसार महिला क्रिकेट विकासका लागि वार्षिक रूपमा ५ लाख अमेरिकी डलर बराबरको बजेट छुट्याउने निर्णय गरिएको क्यानले जनाएको छ। यसले नेपालमा महिला क्रिकेटको विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो