डोटीमा बोलेरो दुर्घटना : ९०० मिटर तल खसेर दुई युवाको ज्यान गयो

सुदूरपश्चिमको डोटी जिल्ला अन्तर्गत आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ।
मृत्यु हुनेमा आदर्श–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र १९ वर्षीय कैलाश विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी नवराज ढुङ्गेलका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९२३ नम्बरको बोलेरो जीप गएराति करिब १२ बजे घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनापछि जीप सडकबाट करिब ९०० मिटर तल खसेको र दुवै जना साइलीखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार कच्ची सडक, तीव्र मोड र रातिको समयका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यस दुर्घटनाले स्थानीय क्षेत्रमा शोकको माहोल सिर्जना गरेको छ भने दुर्गम सडकमा सवारी चलाउँदा उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता पुनः औंल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो