पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, उद्धार कार्य जारी
बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। बिहीबार पुर्चौंडी नगरपालिका–७ बडगाउँस्थित मोडमा बस सडकबाट करिब १५० मिटर तल खसेको हो।
पुर्चौंडी नगरपालिका–८ भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किँदै गरेको उक्त बस राति करिब ८ बजे दुर्घटनामा परेको जनाइएको छ। दुर्घटनालगत्तै घटनास्थलमा उद्धार कार्य सुरु गरिएको छ।
हाट स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी डम्मर कुँवरका अनुसार रातको अँध्यारोका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ। हालसम्म दुर्घटनाबाट भएको क्षतिको एकीन विवरण आउन बाँकी रहेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बल्देव बडूका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य तीव्र बनाइएको छ।
उनका अनुसार इलाका प्रहरी कार्यालय पाटन र ढोल्यामोड प्रहरीचौकीबाट समेत थप प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ। दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो